8/02/2026

विश्वविद्यालय र प्राग्यिक संस्थाहरुको स्वायत्तता सम्बन्धी बुझाइ

सार्वजनिक संस्थाहरू - नाष्ट, विश्वविद्यालयहरु - स्वायत्त हुनुपर्छ भन्ने मान्यता राख्दै आएका छु। यस्ता संस्थाहरु ऐन–नियमअनुसार संस्थागत नेतृत्वको सुझबुझ र निर्णय क्षमताका आधारमा चल्नुपर्छ; राजनीतिक वा अनावश्यक सरकारी हस्तक्षेप हुनुहुँदैन भन्ने बुझाइ हो। विगतमा यस्ता संस्थाहरूमा भएको राजनीतिक तथा सरकारी हस्तक्षेपकै कारण उनीहरू कमजोर बने, अपेक्षाअनुसार काम गर्न सकेनन् भन्ने हाम्रो निष्कर्ष पनि हो।


तर, अहिलेका बहालवाला विज्ञानमन्त्रीको बुझाइ भने यसभन्दा फरक रहेछ। उहाँको तर्कअनुसार नास्ट, विश्वविद्यालयलगायतका सार्वजनिक संस्थाहरू स्वायत्त भएर नै बिग्रिएका हुन्; नाष्ट त स्वायत्त नै थ्यो नि किन काम गरेन; भिसिले सचिवलाइ नटेर्ने?; स्वायत्तताको नाममा मनलाग्दी गरे। त्यसैले अब यस्ता संस्थालाई नियन्त्रणमा राख्नुपर्छ भन्ने उहाँको धारणा बुझियो।


यस विषयमा एक–दुई चरण सवाल–जवाफ पनि भयो। हाम्रो र उहाँको बुझाइमा आधारभूत रूपमै फरक रहेछ। त्यसपछि ‘हाम्रो फरक मत रहेछ, अब अरू विषयमा कुरा गरौँ’ भन्दै छलफललाई अगाडि बढाइयो।


तर, यो विषय सामान्य होइन जस्तो लाग्छ। यो त सार्वजनिक संस्थाको स्वायत्तता, राज्यको भूमिका र संस्थागत सुशासनसँग जोडिएको अत्यन्तै महत्वपूर्ण नीतिगत प्रश्न हो।


त्यसैले मनमा एउटा प्रश्न भने अझै रहिरह्यो—यो विषयमा हामीले नबुझेका हौँ कि मन्त्रीले नबुझेका हुन्?
🤔

May be an image of text

5/01/2020

आहा कति राम्रा फूल फूलेका

कोरोना भाइरसको कारण लामो लकडाउनमा बस्दा अब त बोर नै लागिसक्यो। घरै बसेर कम्प्युटरमा गर्ने काम त जति पनि छ। गरि पनि राखेकै छु। तर पनि मोनोटोनस भैरहेको छ।

यस्तो बोर लाग्यो भने तपाइँ के गर्नु हुन्छ?

पहिले बिद्यार्थी हुदा टेन्सन हुँदा कि त क्यामेरा बोकेर फोटो खिच्न निस्किन्थे कि गाडि लिएर घुम्न।

लकडाउनको स्ट्रेसबाट मन भुलाउन घर वोरिपरी फुलेका फूलहरुको फोटो खिचेको छु । धेरै त आफ्नै घरमा आफैले लगाएर हुर्काएका फूल हुन्। लकडाउनमा फूलेका फूल। हुनत लकडाउन नभए नि फूल्दा हुन्। तर अलि बढि स्याहार सुसार भने पक्कै पाएका छन्।

फोटा रमाइला लागे कमेन्ट गर्नु होला।

IMG_5940


IMG_5848

गुलाब 
IMG_5846


IMG_5841

के फूल थाहा भएन तर यो झार हो
IMG_5823


IMG_5849


IMG_5856

सयपत्री 
IMG_5949

4/21/2020

साबुनको शक्ति

बसन्त गिरी 


चिनबाट सुरु भएको कोरोना भाइरसले विश्वब्यापी लगभग बिस लाख मान्छेलाई संक्रमित बनाइसक्यो। एक लाख बढिको ज्यान गैसक्यो र अरबौ मान्छेहरु बन्दाबंदीमा बस्न बाध्य छन्। यो भाइरस नयाँ भएकोले यसले लाग्ने रोग कोभिड-१९ ठिक गर्ने औषधी वा खोपको बिकास भैसकेको छैन। त्यसैले भाइरस लाग्नबाटै बच्नु नै पहिलो प्राथमिकता भएको छ। अहिलेसम्मको अनुसन्धानले देखाए अनुसार कोरोना भाइरस मुख्यगरी भाइरस संक्रमित चिजबिजको सम्पर्कबाट सर्छ। रोगि मानिसको शरिरबाट निस्किने थुक, र्याल, खोकीका छिटासंगै निस्कने भाइरस कुनै तवरले निरोगि व्यक्तिले छुन्छ। त्यसपछि उक्त निरोगी व्यक्तिको नाक, मुख वा आँखासम्म पुग्यो भने भाइरस म्युकसको माध्यमबाट निरोगी मानिसको शरीर भित्र पस्छ। अथवा भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छेउ गर्दा नजिकै रहने व्यक्तिमा सर्ने सम्भावना हुन्छ। हाम्रो हातले यस्तो भाइरस संक्रमित सतह छोइने र सोहि हात मानिसले नाक, मुखमा लगिरहने कारणले हातको माध्यमबाट भाइरस सर्ने सम्भावना धेरै हुन्छ। यसरी सर्ने कोरोना भाइरसको संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र त्यो सम्भब नभए अल्कोहल स्यानेटाइजर प्रयोग गर्ने उपाए प्रभावकारी मानिएको छ। यो शताब्दीकै ठुलो महाब्याधीले ब्यक्तिगत सरसफाइमा साबुनको शक्तिलाई एकपटक फेरि सम्झाइदेको छ। 


म सानो हुदा करिब ३०-३५ बर्ष अघिसम्म पनि नेपालका गाउँतिर साबुनले हात धुने चलनै थिएन। साबुन सजिलोसंग उपलब्ध थिएन। हात र लुगा धुन खरानी प्रयोग हुन्थ्यो। पहाडी क्षेत्रमा रिठ्ठोले काम चलाउने गरेको थाहा छ। संसारको केहि ठाउमा भने करिब पांचहजार बर्ष अघिदेखि नै साबुन बनाउने र प्रयोग गर्ने गर्दा रहेछन। सबैभन्दा पहिले करिब ४८०० बर्ष अघि साबुन जस्तै पदार्थ बनाएको जस प्राचिन बेबिलोनलाइ जान्छ। बेबिलोन अहिलेको इराकतिर पर्छ। पानी, क्षार र कासियाको तेलबाट साबुन बनाउने सुत्र बेबिलोनमा लेखिएको भेटिएको बताइन्छ। इजिप्टतिर पनि करिब ३५०० बर्ष पहिले साबुन बनाएको पाइन्छ। साबुन प्राय ठोस हुन्छ। आजभोलि झोल साबुन पनि पाइन्छ। ठोस साबुनको इतिहास लामो भएपनि झोल साबुन भने डेढ -दुइसय वर्ष अघिदेखि मात्र बनाउन सुरु गरिएको रहेछ। साबुन अहिले धेरै क्षेत्रमा प्रयोग गरिने भए पनि हामीले घर-घरमा भने व्यक्तिगत सरसफाइमा प्रयोग गर्ने गरेका छौ।  


साबुन बोसो वा तेल र क्षार मिसाएर बनाइने पदार्थ हो। जस्तो जनावरको बोसो र खरानी मिसाएर पकाउने। त्यसैले यो बनाउन सजिलो पनि छ। हजारौ बर्षसम्म पनि साबुन बनाउने आधारभुत शुत्र खासै परिवर्तन भएको छैन। हामीले घरमा प्रयोग गर्ने साबुनलाई टोइलेट सोप पनि भनिन्छ। बोसो वा तेलको र क्षारको प्रकारले साबुनको गुण फरक पर्दछ। साबुन जस्तै सरसफाइमा प्रयोग हुने डिटरजेण्ट वा सरफ भने रसायनिकरुपमा अलि भिन्न चिज हो। साबुन अहिले संसारभरी पाइन्छ र प्रयोग हुन्छ। सरसफाइका अन्य उपायभन्दा साबुन सस्तो, सजिलै पाइने र भरपर्दो पनि छ। जिवाणुरोधी औषधी हालेको साबुन पनि बजारमा पाइञ्छ। तर यस्तो साबुनले सामान्य औषधी नहालेको साबुनले भन्दा राम्रो काम गरेको प्रमाणित भएको छैन। 


कोरोना भाइरस मात्रै नभएर अन्य संक्रमणजन्य रोगहरुबाट बच्न पनि साबुन पानीले हात धुनुपर्छ भन्ने अभियान नेपालमा पनि केहि दशक देखि चलिरहेकै छ। जस्तै जुका, ब्याक्टेरिया, अन्य भाइरसबाट हुने रोगहरुबाट बच्न पनि साबुन पानीले हात धुन आवश्यक छ। हात सफा राख्नु जिवाणु संक्रमणबाट जोगिनु महत्वपुर्ण कदम हो। धेरै रोगहरु हात सफा नगर्नाले सर्दछन। तर यो तथ्य डेढसय बर्ष भन्दा अघि मान्छेलाई थाहा थिएन। 

अहिले स्थापित भएको राम्रोसंग हात धुनाले रोग सर्नबाट बच्न सकिन्छ भन्ने तथ्य पत्ता लगाउने जस भिएनामा काम गर्ने हंगेरीका डा. सिमेवेजलाइ जान्छ। उनले यो तथ्य सन् १८४६ मा पत्ता लगाएका थिए। त्यतिबेला सुत्केरी महिलामा गर्भासयको संक्रमणपछि आउने जोरो र त्यो सम्बन्धी समस्याले र भर्खर जन्मेका बच्चा मरिरहेका थिए। त्यो बेला सर्बसाधारणको त कुरै छोडौ स्वास्थ्यकर्मीले पनि बेलाबेलामा हात धुने नगर्नेरहेछन। एक महिलाको अपरेसन गर्यो, मरेका लास चिरफार गरेर अध्ययन गर्यो, ति लासबाट बायोप्सीको लागी टिस्यु निकाल्यो। अनि अर्को बिरामी हेर्यो वा फेरी अपरेसन गर्यो। यो बिचमा हात धुने वा सरसफाइको चलन थिएन रहेछ। सिमेवेजले अनुसन्धानपछि पत्ता लगाए की डाक्टरहरुको हात फोहर भएकोले उक्त संक्रमण सरेको रहेछ। महिला र बालबालिका मात्रै होइन स्वयम् चिकित्सक र प्याथोलोजिस्टहरुको पनि मृत्यु हुने रहेछ। सिमेवेजले संक्रमणको कारण फोहरी हात हो भन्ने पत्ता लगाए पछि बल्ल हात धुने चलन सुरु भएको रहेछ। र त्यसपछि उक्त जोरोबाट मर्नेहरुको संख्या उल्लेख्य कम भएको रहेछ। तर अफसोच सिमेवेज नै अन्तिममा त्यही रोगको संक्रमणबाट मरेका रहेछन।

साबुनले कसरी काम गर्छ?
साबुन प्रयोगगर्दा यसले फोहर पदार्थलाई घोल्छ अनि पखाल्दा जे सफा गर्ने हो त्यहाँबाट फोहर हटाउछ। उदाहरणको लागि चिल्लो लागेको भाँडा माज्दा पानीले मात्रै धुदा चिल्लो जादैन। तर साबुन वा सरफ प्रयोग गरेर भाँडा माज्दा सर्लक्क सफा हुन्छ। हो त्यस्तै तरिकाले कोरोना भाइरस र अन्य जिवाणु पनि साबुन पानीले हात धुँदा साबुनले पखालिदिन्छ। कोरोना भाइरसको केसमा साबुनपानीले हात धुँदा दुइवटा काम गर्छ। पहिले भाइरसलाई टुक्राइदिञ्छ अथवा निस्क्रिय बनाउछ, त्यसपछि हातबाट पखाल्छ। 


साबुन पानीले हात रगड्दा फिज निस्कन्छ। यो फिजमा साना साना फोका हुन्छन। यी फोकाहरु माइसेलका समूहहरु हुन। प्रत्यक माइसेल धेरै साबुनका अणु एकिकृत भएर बसेका भकुण्डो जस्तै हुन्। साबुनका अणुहरु चंगा जस्तो एकापट्टि टाउको र अर्को पट्टि पुच्चर भएका हुन्छन। टाउकोले पानीजन्य पदार्थ मन पराउछन भने पुच्छरले तेलिय पदार्थ मन पराउछन। माइसेल बन्दा पुच्चर पुच्छर नजिकै आउछन र गोला बनाउछन जसको सतहमा पानीजन्य टाउका हुन्छन।  


कोरोना भाइरस हाम्रो नाङ्गो आँखाले नदेखिने सानो हुन्छ। भाइरसको बाहिरि पत्र चिल्लो (बोसो) जस्तै लिपिडले ढाकेको हुन्छ। त्यो लिपिड भित्र भाइरसको आरएनए हुन्छ। साबुनले भाइरसको बाहिरि लिपिड आवरणलाई पगाल्छ र भित्रको आरएनएलाइ निस्क्रिय पारिदिन्छ। यसको अर्थ भाइरस मर्यो भन्ने हुन्छ। अथवा यसरी निस्क्रिय भाइरसले मान्छेको जिउदो कोषलाई प्रभाब पार्न सक्दैन। साबुनले पानी र तेल मोलिक्युल बिचमा मध्यस्तताको काम गर्छ। एकातिर तेल अर्को तिर पानीसंग टासिञ्छ। अब हात पखाल्दा निस्क्रिय भाइरस पनि पखालिंछ। साबुन पानीले हात धुँदा मज्जाले फिँज निस्किने गरेर हातको सबैतिर - अगाडी, पछाडी, कुना काप्चा - साबुन पुग्ने गरेर हातहरु रगड्नु पर्छ। करिब २० सेकेण्डसम्म हात मिची मिची धुन सुझाइएको छ। यसरी धुँदा सकेसम्म धारोको पानीमा धुनुपर्छ। धोइसकेपछि हात सुकाउनु वा सुख्खा पार्नुपर्छ। सबैतिर सफा टाबेल वा पेपर टावेल नहुन सक्छ। त्यस्तो अवस्थामा धोएको हात माथि फर्काएर घाममा सुकाउने गर्नु पर्छ। 


नेपाल लगाएतका धेरै देशमा साबुन बानीले हात धुने सुबिधा छैन। बानी पनि छैन। कसरी साबुन पानीले राम्रोसंग हात धुने जानकारी पनि छैन। अझैपनि राम्रोसंग हात यसरी धुने भनेर सिकाउन विभिन्न प्रचार सामग्री बाडिएको देख्छौ। अहिले कोरोनाको संक्रमणबाट जोगिन हात धोउ, हात धोउ र फेरी हात धोउ भनेर जनस्वास्थबिज्ञ भनिरहेकै छन्। दिनको धेरै पटक साबुन पानीले हात धुँदा पट्यारलाग्दो त हुन्छ नै। तर पनि धुन त छोड्न भएन। कति पटक वा कतिबेला धुने त? खाना खानु र खाइसके पछि, चर्पी प्रयोग गरे पछि साबुन पानीले हात धुने भनेर रेडियो टेलिभिजनबाट हामीले लामो समयदेखि सुनिराखेकै र हेरिराखेकै हो। यो त जहिलेपनि गर्नु नै पर्छ। तर अहिले कोरोना भाइरस संक्रमण जोखिमको समयमा अलि धेरै पटक हात धुन जरुरी छ। हामीले कोरोना दूषित कुनै बस्तुलाई छुन्छौ अनि हात नाक मुखमा लाँदा कोरोना सर्ने सम्भावना बढि हुने भएकोले हरेक संकास्पद बस्तु छोएपछि हात धुँदा राम्रो। त्यसपछि खाना बनाउनु अघि र पछि, बिरामीलाई हेरचाह गर्नु अघि र पछि, खोक्दा, हाच्चेउ गर्दा, घरपालुवा वा अन्य जनावरलाइ रेखदेख गरेपछि पनि साबुन पानीले हात धुन आवश्यक छ। 


साबुन कि स्यानेटाइजर 
अहिले साबुन संगसंगै स्यानेटाइजर प्रयोग पनि ह्वात्तै बढेको छ। यसको अभाब भैराखेको खबर आएको छ। उक्त अभाब पुर्तिगर्न स्थानियतहमै आ-आफै स्यानेटाइजर बनाउने लहर बढेको छ। नास्टसंगको सहकार्यमा ललितपुर उपमहानगरले वडा-वडामा स्यानेटाइजर बनाउने तालिम नै दियो। अझै घरमै बनाइने रक्सिबाटै स्यानेटाइजर बनाउने भनेपछि गुणस्तर कायम हुदैन कि भनेर त्यसको आलोचना पनि भएको छ। औषधी व्यवस्था विभागले यसअघि नबनाएको स्यानेटाइजरको गुणस्तर अहिले यहि समयमै जारि गरेको छ।


स्यानेटाइजर दुइ किसिमका हुन्छन। एउटा अल्कोहल र अर्को एण्टाइबायोटिकबाट बनेको। कोरोना भाइरसको लागि अल्कोहलवाला स्यानेटाइजर प्रयोग गर्न भनिएको छ। यस्तो स्यानेटाइजरमा कम्तिमा ६०% अल्कोहल हुनुपर्दछ। अन्यथा स्यानेटाइजरले भाइरस मार्न सक्दैन। अल्कोहल इथाइल वा आइसोप्रोपाइल हुनुपर्दछ। 


अल्कोहल स्यानेटाइजरले पनि कोरोना लगाएतका भाइरस र अन्य ब्याक्टेरियालाइ निस्क्रिय पार्छ। तर सबै किसिमको जिवाणुमा अल्कोहलले काम गर्दैन। फोहर हात, छालामा अल्कोहल स्यानेटाइजरले काम गर्दैन। अल्कोहलले जिवाणु मारेपनि हातबाट नपखालिने भएकोले पहिलो प्राथमिकता साबुन पानीले हात धुन नै भनिएको हो। तर हरेक पटक त्यसो गर्न सम्भब नहुने भएको अवस्थामा स्यानिटाइजर प्रयोग गर्न उपर्युक्त हुन्छ। हाते स्यानेटाइजरलाइ साबुन पानीको ब्याकअपको रुपमा राखिएको छ। जतिबेला साबुन पानीले हात धुन मिल्दैन त्यतिबेला स्यानेटाइजर प्रयोग गर्ने। स्यानिटाइजर खादा अझ प्रभाबकारी हुन्छ भन्ने भ्रम फैलिएको देखियो। यो सत्य होइन। 

अन्त्यमा 
अहिलेको कोरोना महामारीबाट बच्न पटक पटक साबुन पानीले हात धोऔ। हात धुनाले हातमा भएको फोहर, माटो र सुक्ष्म जिवाणु सफा गर्ने भएकोले अन्यरोगहरु - जस्तै जुका, इन्फ्लुएन्जा, पखाला, हैजाबाट पनि बच्न सहयोग गर्छ। सफा साबुन पानीले हात धुदैमा रोकिने रोगका कारण प्रत्यक बर्ष लाखौ मान्छेहरु अझै पनि मर्ने गर्दछन। हाम्रो जस्तै अविकसित देशहरुमा निमोनिया र पखालाले विश्वभर बर्सेनी पैंतीसलाख बालबालिका मर्छन। ब्यक्तिगत सरसफाइमा ध्यान दिंदा खोप र चिकित्सकीय हस्तछेप भन्दा प्रभावकारी तरिकाले यस्ता रोगहरुबाट बच्न सकिन्छ। तर बिडम्बना विश्वमा करिब तीन अरब जनसंख्यासंग हात धुन चाहिने साबुन वा पानी छैन। विश्व स्वास्थ संगठनको तथ्यांक अनुसार नेपालमा ४८% जनसंख्यासंग मात्रै साबुन पानीले हात धुने सुबिधा छ। र सुबिधा भएकाले पनि नियमित रुपमा साबुन पानीले हात धुने बानी अझै बिकाश भैसकेको छैन। आशा गरौँ अहिलेको कोरोना भाइरसको कारणले बढेको हात धुने अभियान हाम्रो बानीको रुपमा बिकसित हुन्छ र संक्रमणजन्य रोगहरुबाट बच्न सहयोगी हुने छ। 
----------------
यो लेख नेपालखबरमा बैशाख ६ गते प्रकाशित भएको हो। ब्यक्तिगत आर्काइभको लागि यहा राखेको छु।