1/30/2014

लालमटिया देखि लारामी सम्म

(मेरो बुवा आमा अमेरिका भ्रामण आउनु भएको थियो केही समय अघि। त्यसैको अनुभब लेख्नु भयो बुवाले यो पोस्ट मा। दाङ बाट निस्किने नयाँ युग्बोध पत्रिकामा छापेको छ यो टुक्रो। यसपाली बाको पालो! )
कृष्ण गिरी 

लामो समय बिद्यालयमा सामाजिक बिषय पढाउदा अमेरिका भन्ने देश उत्तरी गोलार्दको उत्तर अमेरिका महादेशमा पर्छ भनेर किताब, नक्सा र ग्लोब देखाएर पढाएको म अहिले शिक्षण पेशाबाट अवकाश पाए पछि प्रत्यक्ष्य रुपमा अमेरिका हेर्न आइपुगेको छु । हामि सबैले बुज्ने अमेरिका भन्ने देश संयुक्त राज्य अमेरिका हो। हुनत अमेरिका जाउला र घुमौला भनेर मैले कहिल्यै पनि कल्पना गरेको थिइन। किनभने यो मेरो पहुच भन्दा बाहिरको कुरा थियो। एक त धेरै टाढाको ठाउ, धेरै पैसा खर्च हुने, त्यसमाथी हामि नेपालिलाई त्यति सजिलो संग भिसा नदिने। 

क्याम्पस 
छोराको बिद्यावारिधिको ग्राजुएसन समारोहको लागि म सहित मेरी पत्नीलाइ अमेरिका आउने अवसर मिल्यो । हामि जस्तो एउटा अति कम बिकसित देशको पनि गाउमा बस्ने मान्छेलाइ अमेरिका जस्तो संसारको अति बिकसित देशमा आउदा धेरै कुराहरु  चासोपुर्ण र अचम्म पार्ने खालका हुने रहेछन । फरक भूगोल, फरक हावापानी, फरक संस्कृति, फरक भाषा, फरक खालको बिकाश, फरक खाना आदि । अमेरिका यात्राको आफ्नो अनुभवलाइ दैनिकीको हिसाबले टिप्दै आएको छु र भबिस्यमा सबैसंग बाड्ने योजना पनि गरेको छु । हामि नोभेम्बर महिनाको २८ गते काठ्माण्डौ देखि चिनको कुन्मिंग र  सांघाई हुदै अमेरिकाको लस एञ्जेलस र अन्तिममा डेन्भर आइपुगेका हौ । डेन्भर अमेरिकाको कोलोराडो राज्यमा पर्दछ । त्यहाबाट छोरा बस्ने ठाउ वायोमिंग राज्यको लारामी पुग्न गाडिमा करिब तिन घण्टा लागेको थियो । लालमटियाको मौरिघाट बस्ने मान्छे अहिले अमेरिकाको लारामि  सहरबाट यी अनुभव लेख्दै छु ।
क्याम्पस परिसरमा रहेको घोडा चड्ने गोठालोको शालिक 
अमेरिकाका ५० राज्य मध्ये वायोमिंग राज्य मध्य-उत्तर तिर पर्ने रहेछ । क्षेत्रफलमा नेपाल भन्दा करिब दुइ गुना ठुलो तर जनसंख्या जम्मा करिब ६ लाख मात्र छ यो राज्य । लाखौ वर्ष पहिले ज्वालामुखी बिस्फोटले असर गरेको यो क्षेत्र अन्य राज्य भन्दा बिकट लाग्यो मलाइ । वर्षको छ महिना भन्दा बढी हिउ पर्ने, अत्यन्तै जाडो हुने, हिउ नै हिउ हुने उच्च पठार र पहाडि क्षेत्र रहेछ यहा ।  खेति योग्य जमिन खासै नभएको तर घासे मैदान टन्न भएको, मासुको लागि गाइ पालन हुने रहेछ यहा । ग्वालाहरुले घोडामा चडेर गाइ चराउने रहेछन जसले गर्दा सयौ गाइहरुलाइ एउतै ग्वालोले हेर्न सक्छ । अमेरिकाको काउ बोय र काउ गर्ल भनेको ठाउ नै यहि रहेछ । यस राज्यको निसाना नै घोडा चडेको ग्वालो छ । बनस्पतिमा सल्ला जातका रुखहरु धेरै देखिए । जंगलको चौरमा मृग जातका जंगली जनावरहरु प्रसस्त पाइने रहेछन । जंगलको कुनाकाप्चा सम्म पनि बाटोघाटोको सुबिधा पुगेको छ । यो राज्यको आम्दानीको मुख्य स्रोत भनेको गाइ पालन, कोइला खानि, तेल खानि, ग्यास खानि, अन्य दुर्लभ र महत्वपुर्ण तत्व जस्तै युरानियम खानि रहेछ ।   
क्याम्पस नजिकै रहेको लिंकनको शालिक अगाडी 
वायोमिंग राज्यको पुर्ब दक्षिणमा अवस्थित सानो सहर लारामीमा वायोमिंग बिस्वबिध्यालय छ । यो राज्यको एक मात्र बिस्वबिध्यालय हो । लगभग २२०० (जुम्लाको उचाइ २५०० हो) मिटर उचाइमा अवस्थित यो सहर शान्त, एकान्त, र सुरक्षित लाग्यो ।पढ्न खोज्ने बिद्यार्थीलाइ उत्तम स्थान । करिब ४० वर्ष नेपालामा शिक्षण पेशामा समय बिताएको मलाइ स्वाभाविक रुपमा यहाको बिस्वबिध्यालयले आकर्षित गर्यो । यसको संचालन, भौतिक सुबिधा, पठन पाठन बिधि, प्रबिधि आदि आदिले । पठन-पाठनको लागि सुबिधा सम्पन्न आफ्नै भवनहरु, अनुसन्धानको लागि सुबिधा र प्रबिधि सम्पन्न प्रयोगशाला-अनुसन्धानशालाहरु,  आफ्नै यातायातका साधन, बस्नको लागि आवासको ब्यवस्था रहेछन । प्रत्यक कक्ष्याकोठा कम्प्युटर र प्रोजेक्टरले सुसज्जित हुने छन । यो बिस्वबिध्यालयको आफ्नै बिशाल पुस्तकालय पनि हेर्ने मौका मिल्यो । ५ तले भवनमा अवस्थित उक्त पुस्तकालयमा करिब लाखौ पुस्तक रहेछन, बिधुतिय पुस्तक र जर्नल बाहेक । हाम्रा स्कुलमा एउटा वा दुइटा कोठामा सिमित पुस्ताकालय देखेको मलाइ यहाको पुस्तकालय देखेर सार्है अचम्म लाग्यो सुरुमा । आजभोलि यो पुस्तकालय  मेरो समय बिताउने गतिलो थलो बनेको छ । आजभन्दा १२७ वर्ष अघि स्थापना भएको यो बिस्वबिध्यालयमा ९४ देशका करिब १४ हजार बिद्यार्थी रहेछन । बिदेशी बिद्यार्थीमा सबै भन्दा धेरै चीनका रहेछन । नेपालका करिब ५० बिद्यार्थी अहिले अध्यनरत छन । मास्टर्स र पिएचडी गर्ने नेपालि बिद्यार्थीहरु सबैले छात्रवृति पाएका छन । स्नातक तहकाले पनि अलि अलि छात्रवृति पाउने रहेछन र बाकि खर्चको जोहो गर्न काम गर्ने रहेछन । नेपाल देखि अमेरिका आएर पढाइ सकेपछि प्रायजसो ले अमेरिकामै काम गर्ने र यतै बसोबास गर्ने गरेको पाइयो । एउटा नरमाइलो लाग्ने भनेको कोहि पनि नेपाल फर्किन नचाहने वा नसक्ने रहेछन । नेपालि बिध्यार्थिहरु आफ्नो समूह बनाएर संगठित रहेछन । बेलाबेलामा भेटघाट गर्ने, दशैँ-तिहार जस्ता चाडपर्ब संगै मनाउने, नेपालि नया वर्षको उपलक्ष्यमा कार्यक्रम गर्ने गरेका रहेछन । 

अमेरिकाका उत्कृष्ठ शिक्षण संस्थामा ग्यान हासिल गरेका, तालिम प्राप्त गरेका, उच्च शिक्षा प्राप्त जनशक्ति अमेरिकामै बस्ने अनि नेपालमा कसरि बिकास होला, कसरि हाम्रो समाजले उन्नति गर्ला ? किन नेपाल फर्कदैनन् त नेपालिहरु ? नेपालमा योग्यता अनुसारको रोजगारी पाइदैन, राजनीतिक स्थिरिता छैन, शान्ति छैन, अन्य आधारभूत सेवा सुबिधा छैन, योग्यताको कदर र सम्मान छैन । अमेरिकाको सुबिधा र सम्पनताले पनि नेपाल फर्कन गार्हो हुन्छ बुवा भन्छन नेपालि बिध्यार्थिहरु । 

डिसेम्बर १ मा नेपालि बिद्यार्थीहरुको संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । जसमा पढाइ पुरा गरेकालाइ सम्मान र बिदाइ गरिएको थियो । यस्तै डिसेम्बर ५ मा बिस्वबिध्यालयको अन्तरास्ट्रिय कार्यालयले पढाइ सकेका विद्यार्थीको लागि भब्य समारोहको आयोजना गर्यो, त्यसमा पनि हामि सामेल भयौ । अर्को एउटा महत्वपुर्ण अवसर हेर्ने मौका पनि मिल्यो लारामी बसाइको क्रममा । पिएचडिको अन्तिम परिक्षा दुइ चरणको हुने रहेछ । प्रथमत अनुसन्धानको नतिजा सार्बजनिक रुपमा १ घन्टाको प्रबचन दिएर ब्याख्या गर्नु पर्ने र त्यहा सोधिने प्रश्नहरुको गतिलो जवाफ दिनु पर्ने । त्यसपछि पाच जना प्राध्यापकहरुको परिक्षा समितिले मिहिन तरिकाले करिब २-३ घण्टा प्रश्नहरु सोदे पछि र सन्तोष जनक उत्तर पाएमा बल्ल उक्त समितिले तुरुन्तै पिएचडि पास घोसना गर्ने रहेछ । ढोका बाहिर उक्त परिक्षाको नतिजा कुरेर बसेका हामि छोरा बाहिर निस्केर पास भएको सुनाउदा हामीहरुमा हर्षको सिमा रहेन । त्यसपछि डिसेम्बर ६ मा बिस्वबिध्यालयले औपचारिक रुपमा आयोजना गरेको भब्य ग्राजुएसन समारोहमा बिद्यार्थीहरुको अबिभाबक, आफन्त, साथिभाइको उपस्थितिमा पास गरेका बिद्यार्थीहरुलाइ अभिनन्दन गर्यो । हामिहरु पनि बधाई दिन पुस्प गुच्छाको साथ नेपालि राष्ट्रिय पोशाकमा उपस्थित भयौ । हाम्रोमा सजिलै पढ्न पाइने, पढ्न सकिने अनि पढे पछि काम नपाउने तर अमेरिकामा कलेज पढ्न निकै महँगो, गार्हो भएको र पढाइलाइ  अत्यन्तै महत्वपुर्ण उपलब्धिकोरुपमा लिने गरेको महसुस भयो ।     

2 comments:

  1. बुवाको लेखे धेरै राम्रो लग्यो!

    ्रकृति

    ReplyDelete
  2. ramro lekh
    buwako bhaugolik baran sunda ta 6-7 class ko samajik class ma nai base jasto lagyo

    ani palayanbadi soncha lai halka chisikka.......

    ReplyDelete

Please type your comment in the box below.