बसन्त गिरी र भानु न्यौपाने
धुलो र धुँवाबाट जोगिन हामी दुबैजनाले पहिले देखिनै नियमित अनुहार मास्क लगाइराखेका छौ। हामीले गत बर्ष मास्कले धुलोका कण कति प्रभाबकारी ढंगले रोक्न सक्छ भन्ने अनुसन्धान गरेका थियौ। उक्त अनुसन्धान बैज्ञानिक जर्नलमा प्रकाशित भएको छ। हाम्रो अध्ययन अनुसार घर बाहिर निस्किने सय मध्ये करिब तिसजना काठमाण्डुबासीले मात्रै मास्क लगाउछन। तर चीनबाट फैलिएको नोभल कोरोना भाइरसको कारण अहिले अनुहार मास्क लगाउनेको संख्या उल्लेख्य बढेको छ। स्थानिय बजारमा मास्कको अभाव नै देखिएको छ। र संगसंगै मुल्यपनि बढेको छ। बिस्व स्वास्थ संगठनले कोरोना भाइरस आपतकाल घोषणा गरेपछि मास्कको माग संसारभरिनै अत्यधिक बढेको छ। नेपालबाटै लाखौ मास्कहरु चीन र हंगकंग तिर निर्यात भएको समाचार आएको थियो। केहि दिन अघि नेपाल सरकारले त चीन सरकारलाई सहयोग स्वरुप मास्क प्रदान गर्यो। चीनमा उवानको स्थानिय सरकारले त्यहाँका जनतालाई सार्बजनिक स्थानमा जादा अनिबार्य मास्क लगाउन भनेको छ। चीन र भारतले मास्क निर्यातमा प्रतिबन्ध नै लगाएको जनाइएका छन। नेपाली बजारमा मास्कको कमि नहोस भनेर औषधी व्यवस्था विभागले मास्क निर्यात नगर्न र नेपालको लागी चाहिने आवश्यक मास्क प्रयाप्त मात्रामा राख्न नेपाली सप्लाएर्स र उत्पादनकर्तालाई सार्बजनिक अनुरोध गरेको छ।
अहिले आम जनमानसले भाइरस सर्नबाट जोगीने आशामा मास्क लगाइराखेको बुझ्न कठिन छैन। तर मास्कले साच्चिकै भाइरस सर्नबाट जोगाउछ त भन्ने अन्योल कायम छ।
थरिथरिका मास्क
अनुहार मास्कले प्रयोगकर्ताको मुख र नाकलाइ बाहिरी वातावरणबाट छुट्टाउन भौतिक छेकबार लगाउछ।मास्कहरु विभिन्न पदार्थले बनेका, विभिन्न मोटाइ भएका, फरक फरक तह भएका हुन्छन। र तिनको तरल पदार्थको छिटा, धुलोका कणबाट जोगाउने अनि संक्रमणबाट रोकथाम गर्ने क्षमता पनि फरक फरक हुन्छ। यी गुणहरुले मास्क लगाएर स्वास फेर्दा कति सजिलो वा असहज हुन्छ भन्ने पनि निर्धारण हुन्छ।
हामीले गरेको मास्क संबंधी अनुसन्धान अनुसार काठमाण्डुमा मास्क लगाउने मध्ये दुइ तिहाइ भन्दा बढिले कपडाको मास्क लगाउने रहेछन। कपडाको मास्क अन्य प्रयोजनमा प्रयोग हुने कपडाबाट स्थानिय रुपमै बनाइञ्छ र सस्तोमा पाइञ्छ । यस्ता मास्क धोएर पुन लगाएको देखिन्छ। कपडाको मास्क अन्य विकाशील देशहरुमा पनि अत्यधिक प्रयोग हुने अनुहार मास्क हो। यस्ता मास्कमा दुइ पत्र हुन्छन। कानमा अड्याउनको लागि प्रयोग गरिने धागोले तानतुन पार्दा मास्क नै तानिन्छ। हामीले गरेको उत्क अध्धयन अनुसार कपडाका मास्कमा करिब ८० - ५०० माइक्रोमिटर ठुला प्वाल हुने गर्दछन। त्यसैले तिनीहरुले धुलोका कणहरु त्यति राम्रो संग छेक्न सक्दैनन्। अझ धोएर लगाउदा र तन्काउदा यस्ता मास्कको कण छान्ने क्षमता बिस प्रतिशत भन्दा बढि ह्रास हुने गर्दछ।
काठमाण्डुमा प्रयोग हुने अर्को किसिमको मास्क सर्जिकल वा मेडिकल मास्क हो। अस्पत्ताल र प्रयोगशालातिर यस्तो खालको मास्क लगाएको हामि प्राय: देख्छौ। काठमाण्डुमा मास्क लगाएर हिड्ने मध्ये करिब एक तिहाईले यस्तो सर्जिकल मास्क लगाएको देखिन्छ। सर्जिकल मास्क झिल्ली पनि राखेको अलि फरक सामग्रीले बनेको हुन्छ र अलि महँगो पनि छ। यो मास्कमा प्राय तीन पत्र हुन्छन। नाकको डाडी मा पर्ने गरि धातुको मसिनो पाता, जसले मास्कलाई नाकसंग टम्म टास्सिन सहयोग गर्छ, पनि राखिएको हुन्छ। यस्तो पाता कपडाको मास्कमा हुदैन। झिल्लीमा रहेका प्वालहरु कपडाको मास्कमा पाइने प्वालहरु भन्दा साना हुन्छन। तिनमा हुने रेशाहरु एक माथि अर्को बसेको कारण सर्जिकल मास्कले अलि साना कणहरु पनि रोकिदिन सक्छन। हाम्रो अनुसन्धानले सर्जिकल मास्कको धुलोका कण फिल्टर गर्ने क्षमता कपडाको मास्क भन्दा निकै राम्रो देखाएको थियो। सर्जिकल मास्कको गुणस्तर उत्पादनकर्ता अनुसार केहि फरक हुन सक्छ। अमेरिकाको एफ डि ए ले यस्ता मास्क उत्पादकहरुको लागी निर्देशिका जारि गर्ने गरेको छ। हरेक उत्पादकले मास्कमा प्रयोग हुने कपडाको सामग्री किसिम, आकार, नाप, तन्यता शक्ति, कानमा लगाउने हो कि टाउको पछाडी बाध्ने हो, स्वास्थ जोखिमहरू के के हुन सक्छन, तरल पदार्थ छेक्न सक्छ कि सक्दैन, धुलोका कण, ब्याक्टेरिया आदी कति फिल्टर गर्न सक्छन लगायत धेरै तथ्य उल्लेख गर्नु पर्ने हुन्छ।
अत्यन्तै कम मान्छेले प्रयोग गरेको देखिने अलि महँगो खालको मास्क एन ९५ हो। यो किसिमको मास्क बिशेष परिस्थितिमा प्रयोग गरेको पाइन्छ। नेपालमा सामान्यतया यो प्रकारको मास्क प्रयोग गरेको देखिदैन। यो मास्क अनुहारमा राम्रोसंग फिट हुन्छ। यो मास्कको साना कण छान्ने वा रोक्ने क्षमता सर्जिकल मास्कको भन्दा बढि हुन्छ। राम्रोसंग लगायो भने यस्तो मास्कले ३०० न्यानोमिटर तहका धेरै साना कण ९५ प्रतिशत सम्म छेक्न सक्छ। तर यो मास्क सर्बसाधारणले दैनिक प्रयोजनको लागि प्रयोग गरिरहन त्यति उपर्युक्त हुदैन, अफ्ठेरो हुन्छ ।
मास्कको प्रभाबकारीता
विभिन्न अध्ययनहरुले अनुहार मास्कको प्रयोगले धुलोबाट हुने जोखिम, स्वास्थ क्षेत्रमा हुने संक्रमण जोखिम, सरुवा रोगको आपतकालिन अवस्थामा केहि हदसम्म रोकथाम गर्ने देखाएका छन। मास्क लगाउदा रोग सार्न सक्ने सम्भावना घट्छ। प्रयोगकर्ताको मुख वा नाकबाट निस्कने सम्भाव्य दुषित पदार्थ अर्को व्यक्तिसम्म पुग्न रोकिन्छ। राम्ररी प्रयोग गर्यो भने मास्कले खोक्दा वा हाच्छेउ गर्दा निस्कने ठुला तरल पदार्थको थोपा जसमा भाइरस, ब्याक्टेरिया लगाएत रोगाणु पनि सर्नबाट कम हुन्छ। त्यसैगरी मास्क लगाउदा थुक वा र्याल र स्वासप्रस्वास सम्बन्धी स्राब अन्य व्यक्तिकोमा पुग्नबाट बचाउछ।
सर्जिकल मास्क अनुहारमा टपक्क फिट नहुने भएकोले पनि यिनको कार्यक्षमता कम हुन्छ। त्यसैले मास्कले रोगाणुबाट पुरा सुरक्षा गर्छन भनेर ढुक्क हुन भने मिल्दैन। सर्जिकल मास्कले खासगरी माइक्रोन तहका कणहरु रोक्न मद्दत गर्दछ। यदि यस्तो मास्क लगाएको छ भने खोक्दा वा हाच्छेउ गर्दा मुखबाट निस्कने वा अन्य शारिरिक तरल पदार्थ एक व्यक्तिबाट अर्कोमा जानबाट कम गर्दछ। स्वासप्रस्वास सम्बन्धी संक्रमण भएको व्यक्तिले यस्तो मास्क लगाउदा संक्रमण अन्य व्यक्तिमा सर्न कम हुन्छ भने, सार्बजनिक स्थानमा कुनै संक्रमित व्यक्तिले खोके वा हाच्छेउ गरे उक्त व्यक्तिबाट निस्केको तरल पदार्थ मास्क प्रयोगकर्ता सम्म पुग्ने जोखिम कम हुन्छ। अमेरिकाको एफ डि ए ले माथिका अवस्थामा सर्जिकल मास्क लगाउन अनुमोदन गरेको पाइन्छ। त्यसको लागी निश्चित मापदण्ड पुगेको सर्जिकल मास्क हुनु जरुरी छ। तर नेपालमा बनाइने सर्जिकल मास्क कस्तो गुणस्तरका छन्, तिनको अनुमोदन वा स्वीकृति कुनै निकाएले गरेको छ कि छैन होला? यस्ता सर्जिकल मास्कले अत्यन्तै साना न्यानोमिटर तहका धुलोका कण वा भाइरसका कण भने नरोक्ने सम्भावना बढि हुन्छ ।
एन ९५ मास्क भने स्वास्थ्कर्मिहरुलाई कोरोना भाइरसजस्तो स्वासप्रस्वास सम्बन्धी संक्रमित बिरामीको उपचारमा संग्लग्न हुँदा लगाउन प्रभाबकारी मानिन्छ। स्वास्थ्यकर्मिहरुले त स्वासप्रस्वास सम्बन्धी बिरामी हेर्दा अनिबार्य रुपमै मेडिकल मास्क लगाउनु नै पर्यो। बिरामीको अवस्था हेरेर एन ९५ मास्क पनि लगाउनु पर्ने हुन्छ। यति हुदाहुदै पनि एन ९५ ले पनि सम्पुर्ण रुपमा सबै कण रोक्न सक्दैन।
कपडाको मास्क भने कुनै पनि अवस्थामा नलगाउन नै सिफारिस गर्ने गरिएको छ।
सर्नसक्ने रोग लागेका बिरामीहरुले सार्बजनिक ठाउमा जादा मास्क लगाउदा किटाणु फैलन रोक्छ। तर कुनै स्वासप्रस्वास सम्बन्धी संक्रमणबाट बच्न एक स्वस्थ मानिसले मास्कमा पुरै भर पर्न हुदैन। कोरोना जस्तो भाइरस फैलिन नदिन दैनिक रुपमा राम्रो संग हात धोइरहने र बिरामी मान्छेसंग टाढै बस्ने गर्नु पर्छ। कोरोना भाइरस कि त स्वासप्रस्वास ड्रप्लेट कि त छोइदा संक्रमित मान्छेदेखी स्वस्थ मान्छेमा सर्छ। त्यसकारण रोगि मान्छेले खोक्दा वा हाच्छेउ गर्दा एक मिटरको दुरीसम्म कोरोना भाइरस अर्को मान्छेलाई सर्ने जोखिम हुन्छ। बिस्व स्वास्थ संगठनका अनुसार सर्जिकल मास्क लगाउदा कोरोना लगाएत केहि स्वासप्रस्वास सम्बन्धी रोगहरु फैलिनबाट रोकथाम गर्न सकिन्छ। तर बुझ्नु पर्ने कुरा के छ भने मास्क मात्रैले सुरक्षा गर्न सक्दैन। राम्रो संग हात धुने लगाएत पक्रिया पनि अपनाउनु पर्छ।
सामान्यतया निरोगी सर्बसाधारणले मास्क लगाइहाल्नु जरुरि छैन तर सार्बजनिक स्थानमा जादा मास्क लगाउदा कुनै रोगि मानिसले नजिकै खोक्यो वा हाच्छिउ गर्यो भने त्यसबाट हुने संक्रमण कम गर्न मद्दत हुन्छ। स्वासप्रस्वास सम्बन्धी लक्षण भएका व्यक्तिले मास्क लगाउनु नै बुद्धीमानी हुन्छ। कोरोना संक्रमित संकास्पद व्यक्ति घरमा वा नातागोतामा छ भने सर्जिकल मास्क लगाउनु पर्छ, नजिक हुदा। सामान्यतया यस्ता मास्क घरमा र समुदायमा लगाउन रुचाइदैन। तर फ्लु, कडा रुघा खोकी संक्रमण लगाएत स्वासप्रस्वास सम्बन्धी रोग सर्न बाट बच्न लगाउन सकिन्छ।
मास्क लगाउने सहि तरिका
कुनै मास्क कसरि लगाइञ्छ भन्नेले पनि कति हदसम्म कणहरु सास लिदा भित्र पस्छन भन्ने निर्धारण गर्दछ। सर्जिकल मास्क लगाउदा खुकुलो हुन्छ। नाकको माथिपट्टी दाँयाबाँयाबाट वा कानको नजिकबाट वा मुखको तलबाट हावा सजिलै छिर्छ। यी ठाउबाट कणहरु चुहावट हुने प्रसस्त सम्भावना हुन्छ । मास्क नलगाउदा च्याप्टो हुन्छ। मास्क लगाउदा यसलाई मुख र नाक ढाक्ने गरेर राख्ने र मुखमै टासिने गरेर तुना पछाडी लगेर दुइ कान वा टाउकोमा अड्याएर कस्नु पर्छ। सहि तरिकाले मास्क नलगाउदा यसको प्रभावकारिता कम हुन सक्छ र रोग सर्ने जोखिम बढि हुन सक्छ। मास्क सहि तरिकाले लगाउनु त छदै छ संगसंगै लगाइसकेपछि सहि तरिकाले निकाल्ने र सुरक्षित तरिकाले बिसर्जित गर्नु पनि महत्वपुर्ण हुन्छ। लगाइराखेको बेलामा मास्क सकेसम्म नछुने। मास्क निकाल्दा पनि अगाडिको भाग नछोई पछाडिबाट तुना समातेर निकाल्नु पर्दछ। मास्क निकालिसके पछि तुरुन्तै साबुन पानीले हात धुनु पर्छ। मास्क बिग्रेको छ, भिजेको छ वा स्वास फेर्न गाह्रो हुने भएको छ भने त्यस्तो मास्क लगाउन हुदैन। आजभोलि बच्चालाई पनि मास्क लगाइदिएको देखिन्छ। आवश्यक नपरे सम्म मास्क नलगाएकै बेस। मास्क लगाइरहन त्यति सहज भने हुदैन। कति मान्छेलाई निसासिएको जस्तो हुन्छ। चस्मा लगाउनेलाई चस्मामा कुहिरो लाग्छ। मास्क लगाएर कुरा गर्न असहज हुन्छ । एक पटक लगाउन बनाइएका मास्क पुन प्रयोग गर्नु हुदैन। एकजनाले लगाइसकेको मास्क अर्को व्यक्तिलाई लगाउन दिनु हुदैन। संक्रमण भएको अवस्थामा लगाएको मास्क सुरक्षित रुपले बिसर्जन गर्नु पर्छ। एन ९५ यो मास्क भने बच्चाको लागि उपर्युक्त मानिदैन।
अन्त्यमा
गत बर्ष अक्टोबरमा एनल्स अफ इन्टरनल मेडिसिन भन्ने प्रतिष्ठित जर्नलमा प्रकाशित अनुसन्धानले उल्लेख गरे अनुसार हातको सरसफाई र मास्क लगाउने कार्य घरघरमै प्रभाबकारी रुपमा गर्यो भने कडाखालको रुघाखोकी लगाउने भाइरस फैलन निकै कम हुन्छ। र यो बिधि महामारीको समयमा अत्यैन्तै उपयोगी हुन्छ। भिडभाडमा हुँदा वा रुघाखोकी लागेको बेला सर्बसाधारणले सहि तरिकाले सर्जिकल वा मेडिकल मास्क लगाउनु उपर्युक्त हुन्छ ।
डा. बसन्त गिरी (@girib71) काठमाण्डु ब्यवहारिक बिज्ञान प्रतिष्ठान र डा. भानु न्यौपाने (@BNeuaone) त्रिभुवन बिस्वबिध्यालयमा कार्यरत छन्।
नोट: यो लेख परिमार्जन सहित कान्तिपुर दैनिकमा फागुन छ गते प्रकाशित भएको छ। ब्यक्तिगत रेकर्डको लागि मात्रै आफ्नै ब्लगमा पोस्ट गरेको हु।
No comments:
Post a Comment
Please type your comment in the box below.