6/13/2014

SLC पछि के पढ्ने?

गत चैत्रमा लिएको SLC को नतिजा भर्खर निस्कियो । आधामा बढी फेल भए । त्यसको बारेमा बहस हुन जरुरि छ ।१० कक्षाको परीक्षालाई "फलामे गेट" भने पनि त्यसको अब कुनै अर्थ छैन । परिक्षामा पास भएका धेरै विद्यार्थीहरूलाई उनीहरुका अभिभाबकहरुसंगै अब के पढ्ने भन्ने चासो र चिन्ता परेको होला । अब केहि समय उच्च माध्यामिक तह भर्ना नहुदा सम्म यो पढे राम्रो हुन्छ त्यो पढे झन् राम्रो हुन्छ भनेर सुनाउने पनि टन्नै भेटिएलान । बिज्ञान पढ्ने की ब्यवस्थापन वा शिक्षा तिर जाने की आर्ट्स तिर । डाक्टर हुने की नर्स, इन्जिनिएर की आर्किटेक, म्यानेजर हुने की ब्यान्कर, बैज्ञानिक हुने की शिक्षक, पाइलट हुने की ड्राइभर ? जिन्दगीको करिअर निर्धारण गर्न महत्वपुर्ण हुन सक्छ यतिबेलाको निर्णय । संसारका धेरै मुलुकहरुमा १२ कक्षा (हाइ स्कुल) पछि मात्रै पेशा छुट्टिने गरि पढाइ छनोट हुने गर्छ । नेपालमा पनि सोहि पद्दती आउँदै छ भन्ने सुन्नमा आएको छ, छिट्टै आओस । किन भने उमेर र बिषयगत ज्ञानको हिसाबले पनि १० कक्षा पछि विद्यार्थीहरू परिपक्व भई सकेका नहुन सक्छन ।   

अस्ति बसमा SLC दिएर बसेका एक ठिटा उनकी आमा सँगै भेट भए । कुरा गर्दै जादा छोराको बिज्ञान पढ्ने मन वा रहर रहेछ । तर आमाको चाहना भने छोराले ब्यवस्थान पढोस भन्ने । छोरा पढाइमा त्यति तगडा छैन त्यसैले बिज्ञान पढेर राम्रो गर्न सक्दैन भन्ने उनको तर्क । साच्चैनै छोराले बिज्ञान पढ्न सक्दैन भन्ने आमाको बुझाइ हो वा एउटा (जेठो) छोराले मेडिकल पढ्यो अर्कोले व्यवस्थान पढोस भन्ने चाहना हो, त्यो त आमालाई नै थाहा होला । यसपालि मेरी आफ्नै भान्जीले पनि SLC राम्रै नम्बर ल्याएर पास गरिन । दिदि भिनाजुको छोरीलाई नर्सिङ पढाउने मन छ भने भान्जीले बिज्ञान पद्छु भन्छिन । नर्सिङ पढे पछि तुरुन्तै काम पाइएला कि भन्ने दिदि भिनाजुको तर्क हो । मलाई बिज्ञान पढ्न सक्दैने भनेर नर्सिङ पढ भन्ने, म बिज्ञान पढेर राम्रो गरेर देखाइदिञ्छु भन्छिन भान्जी । नास्टमै काम गर्ने सहकर्मी बैज्ञानिक साथिकी भान्जीले पनि SLC दिएकी रहिछन । के पढ्ने भनेर स्वाभाबिक रुपमै प्रश्न वा सल्लाह आउने भयो उनीकहा । मेरा बैज्ञानिक साथीले भन्दै थिए बिज्ञान पढेर के गर्नु बरु व्यवस्थान पढे पो कुनै कम्पनीको सी यी यो हुन सकिएला र पैसो कमाइएला । सबैको तर्क आ-आफ्नै ठाउमा केहि सत्य होलान । के बिज्ञान पढ्न निकै गाह्रो छ र धेरै ट्यालेण्टले मात्र यो बिषय पढ्न सक्छन ? के ब्यवास्थान पढ्न सजिलो नै छ वा धेरै पैसो कमाउन सकिन्छ त ? कुन बिषय पढ्ने र कुन क्षेत्रमा आफ्नो करिअर बनाउने भन्ने कुरो धेरै कुरामा भर पर्दछन् । आफ्नो इक्षा, रहर, क्षमता, जागिर पाउने सम्भावना आदि आदि । 

दुई बर्ष अगाडि (6 July, 2012) बिस्वको प्रसिद्द र प्रतिष्ठित जर्नल साइन्स ले आह्वान गरेरै धेरै मान्छेहरुबाट प्राप्त मध्य प्रतिनिधिमुलक बिचार छापेको थियो । जसमा उनीहरु कुन खास कारणले अहिलेको पेशा वा पढाइ तिर आइपुगे भन्ने लेखेका छन् । कसैमा कुनै व्यक्तिको प्रभाब, कुनै घटना वा टिभि कार्यक्रम अथवा फिलिमले प्रभाब पारेको देखियो भने कोहि कोहि बैज्ञानिक लेख रचनाहरु पढेर सम्बन्धित क्षेत्रमा लागेका रहेछन । यी प्रायजसो बिकसित मुलुकका कुरा हुन । अबिकसित वा कम बिकसित मुलुकहरुमा अन्य कुराहरुले पनि के बिषय पढ्ने वा कुन पेशा अंगाल्ने बारेमा बलियो प्रभाब पार्छन । साइन्स जर्नलको त्यसै प्रसंगमा मेरो ब्यक्तिगत अनुभब पनि छापिएको थियो । मैले SLC पछि बिज्ञान पढ्नुमा के कारण थिए भन्ने कुरो लेखेको थिए जुन अन्य प्रस्तुतिहरुको भन्दा नितान्त बेग्लै थिए । मुख्यतया दुइ कारण थिए मैले बिज्ञान बिषय लिएर पढ्नुमा । राम्रो (प्रथम श्रेणी) अंकले SLC पास गरेको थिए । र प्रथम श्रेणीमा पास गर्नेले बिज्ञान पढ्नु पर्छ भन्ने आम मान्यता थियो त्यतिबेला । अझ गाउ तिरको सरकारी स्कुलमा पढेको हुनाले काठमान्डू गएर बिज्ञान पढ्ने भन्दा अरु कसैले पनि सोचेको थिएन । आज भन्दा करिब दुई दशक अगाडि र अहिले धेरै परिवर्तन् आइसक्यो । विद्यार्थीहरू SLC दिदा खेरी नै धेरै कुरामा अपडेट हुन्छन् । के के सम्भावना छ, के बिषय पढ्यो भने कुन फिल्डमा गैन्छ भन्ने कुरो बुझ्न बिशेस गरि शहरी क्षेत्रका बिद्यार्थीलाई कुनै समस्या छैन । पत्र-पत्रिकाले  प्रशस्त जानकारी दिन्छन, अझै इन्टरनेटको प्रयोगले संसार भरि के कस्तो अवसर छ, कुन बिषयको भबिस्य 20 वर्ष पछि कस्तो हुन्छ अहिले नै बुज्न सकिन्छ । बिज्ञान पढे पछि राम्रो जागिर अलि सजिलो संग पाइञ्छ जसले गर्दा जिन्दगि सुखमयी हुन्छ भन्ने समाजको बुझाइले म जस्तै धेरैलाइ बिज्ञान तर्फ ल्याको हो । बास्तबमा बिज्ञान पढाइको महत्व नेपाली समाजमा मात्रै नभएर बिस्वब्यापी नै हो । संयुक्त राज्य अमेरिका (USA) मा बिज्ञान, प्रबिधि, इञ्जिनिएरिङ्ग र गणित (STEM) पढाइलाइ निकै महत्व दिइएको छ राज्यको तर्फ बाट । निकै लगानी गर्छ राज्यले र स्कुल देखि नै बिद्यार्थीहरुलाइ यी फिल्डमा आउनलाइ उत्प्रेरित गर्छ । किनभने प्रबिधि आबिस्कारले नै अमेरिका बिस्वको शक्तिशाली देश बन्न सकेको हो । यी बिषय पढे पछि धेरै तलबको राम्रो जागिर पाउन सजिलो हुन्छ पनि । त्यसैले कतिपय अवस्थामा आफ्नो रहर र इक्षा भन्दा पनि आवस्यकताले के पढ्ने र के पेशा अंगाल्ने निर्धारन गर्छ । तर एकपटक गरेको निर्णय सधै त्यहि नै हुन्छ भन्ने पनि  छैन ।

गरिब र अबिकसित मुलुकमा जस्तो पढाइ र पेशा छनोट गर्ने बेला बिकसीत मुलुक तिर बाध्याता नहुन सक्छ ।  इक्षा, रहर र चाहना अनुसारको पेशा गर्न पाइयो भने काम गरे जस्तो मात्र नभई रमाइलो पनि हुन्छ र सफलता पाउने सम्भावना धेरै हुन्छ । यस्तै प्रसङ्गमा केहि वर्ष अघि सन् 200३ को रसायनशास्त्रको नोबेल पुरस्कार बिजेता प्रोफेसर रोडरिक म्याकिनन सँग गफ गर्ने मौका मिलेको थियो । प्रोफेसर म्याकिनन अमेरिकाको रकफेलर बिस्वबिध्यालयमा Molecular and Neurobiology र Biophysics बिषयको प्रोफेसर हुन । उनि लगाएतका बैज्ञानिकहरुले पोटासियम आयोन कसरि कोषको प्रोटिन च्यानेल वार पार गर्छ भन्ने सम्बन्धि गरेको खोजको लागि नोबेल पुरस्कार जितेका थिए । बिज्ञान बिषय लिएर अण्डर्ग्राजुएट गरिसकेपछि उनले मेडिकल पढे । तर 7 वर्ष सम्म पढ्दै जादा त्यो पेशामा मन मर्दै गयो, कुनै आनन्द नै भएन । अब यतिबेला उनलाई समस्या आइपर्यो । मन नपर्ने पेशा जिन्दगिभरि गर्ने कि परिवर्तन गर्ने । मेडिकल पढिसकेर उनले एउटा ठुलो निर्णय गरेर ताकि मेडिकल डाक्टरको टन्न पैसा कमाउने पेशा नगरेर फेरि पहिले अण्डर्ग्राजुएट बिस्वबिध्यालय PhD प्रोग्राममा भर्ना भए र तेति बेलादेखिको खोजले नोबेल पुरस्कार दिलायो । हामीसंगको भेटमा उनको सल्लाह के थियो भने कुनै पनि क्षेत्रमा सफलता हात पार्नलाइ त्यो पेशा वा काम आफुलाई मन पर्ने, चाख लाग्दो र रमाइलो हुनु पर्दछ । यसको मतलब आफ्नो मन देखि लागेको कुरो पढ्न पाइयो भने रमाइलो पनि हुन्छ अनि सफलता पनि हात पर्छ । 

तर प्रोफेसर म्याकिनन जस्तै  मेडिकल पढिसकेर फेरी अर्को बिषयमा PhD गर्न सामान्यतया सजिलो छैन, त्यसै कारणले पनि अहिले एस एल सी दिएकाहरुले धेरै बिचार गरेर बिषय छान्न जरुरि छ । आफ्नो इक्षा र मन अनुसारको बिषय पढ्न पाइयो र त्यसले आय आर्जनको बाटो पनि खोल्यो भने सबै भन्दा राम्रो भयो । अहिलेको प्रतिस्प्रधी जमानामा रोजगारीको अवसरलाई नजरन्दाज गर्न सकिदैन । अहिलेको जमानामा सबैभन्दा काम र दाम पाइने बिषय भनेका बिज्ञान, प्रबिधि, इञ्जिनिएरिङ्ग, र गणित (STEM) अन्तर्गतका बिषयहरु हुन । त्यसैले यी बिषय पढ्यो भने नेपालमा मात्रै हैन संसारभरी नै काम पाउन सजिलो हुञ्छ । यो बिषय पढ्न सक्ने त्यो नसक्ने तिर ध्यान नदिएकै राम्रो । अवसर पाइयो र मिहिनेत गर्यो भने जुन सुकै बिषय पनि पढ्न सकिञ्छ ।