5/09/2015

धरहरा पुननिर्माण नगरौ-स्मारक बनाउ


हाम्रो तीन पुस्ताकै सबैभन्दा ठुलो प्राकृतिक प्रकोपले हजारौको ज्यान लियो, थप हजारौलाइ घाइते बनायो र लाखौलाइ घरबार बिहिन बनायो । नब्बे सालको भुइचालो मेरो बाजेले देख्नुभयो, बुवाले ४५ सालको भुइचालो अनुभब गर्नुभयो । बाजे पछि यति ठुलो प्रकृतिक ध्वंस हाम्रो पुस्ताले देख्नुपर्यो । हाम्रो पुस्ताले लगभग भुलिसकेको थियो ९० सालको भुइचालो, अरुले लेखेको पढ्ने बाहेक । ९० सालको भुइचालोले जस्तै ७२ सालको सुरुमै आएको पछिल्लो भुइचालोले पनि घरहरु मात्रै ध्वस्त पारेन, सयौ बर्षदेखी हाम्रो संस्कृति, परम्परा र इतिहासका प्रत्यक्ष्य साक्षी रहेका कैयौ सम्पदाहरु पनि भत्काइदियो ।
भत्केको धरहरा ,फोटो: UNDP Nepal फ्लिकर 

घरहरु त पक्कै पनि बनाउनु पर्छ सके सम्म छिटो, त्यसमा दुइमत कसैको नहोला । भलै कस्तो खालको र कहाँ बनाउने भन्नेमा बहस हुन जरुरि छ । के फेरी पनि पहिलेका जस्तै भत्किने घर बनाउने? आधारभुत सुबिधा जस्तै बाटो, पानी, बिजुली पुर्याउन कठिन डाडापाखा जहा मन लाग्यो त्यहाँ बनाउने? यसमा बहस हुन जरुरि छ । सरकारले बिज्ञहरुको सल्लाहमा अनिबार्य रुपमा भवन निर्माण नीति ल्याउन पर्छ गाउ र सहर दुवैको लागी र सो अनुसार भवन बनेको नबनेको अनुगमन गर्नु पर्छ कडाइका साथ । सर्बसाधरणलाइ भुकम्प प्रतिरोधक घर बनाउने तरिका थाहा छैन । त्यसैले सरकारले बाटो देखाउनु पर्छ । नया र पुनर्निर्माण हुने घरहरु अनिबार्य रुपमा भुकम्प प्रतिरोधक हुन पर्छ र डाडा पाखाका गाउहरुलाइ पाएक पर्ने ठाउमा सार्नु उपर्युक्त हुन्छ यसै मौकामा । 

बसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्रका दर्जनौ पुराना युनेस्कोको लिस्टमा भएका संरचना ढले । त्यो संगै हाम्रो इतिहास पनि ढल्यो । तर हाम्रो मन ढल्नु हुदैन, आस्था र बिस्वास ढल्नु हुदैन । अब बिस्तारै यी सबै संरचना पुनर्निर्माण गर्नु पर्छ, हुने नै छन् । यसमा मेरो कुनै असहमति छैन । सके सम्म छिटो बनाउनु पर्छ, जस्ताको तस्तै बनाउनु पर्छ तर बलियो बनाउनु पर्छ ताकि फेरी आउने अर्को भुइचालोले भत्काउन नसकोस । तर संगै भत्केको नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बनाएको लगभग ६२ मिटर अग्लो र नौ तले धरहरा वा भिमसेन स्तम्ब पुनर्निर्माण नगरौ, यसलाई भत्केकै अवस्थामा राखौ भन्ने प्रस्ताव राख्छु म । पक्कै पनि बनाउनै पर्छ भन्ने प्रस्ताब पनि आउछन, आउनुस छलफल गरौ बहस गरौ ।

धरहरासंग एक किसिमको मोह थियो, पहिलो पटक काठमान्डू आउदा देखि नै । काठ्मनडुको केन्द्रमा भएको धरहरा अग्लो हुनाले टाढा टाढाबाट देखिन्थ्यो, पछिल्लो समयमा अरु अग्ला घरले छेके पनि । सुरिलो र सेतो स्तम्बको टुप्पोमा चड्न पाए कस्तो होला भन्ने लग्थ्यो । हामि धेरै खिस्सा बनाउथेउ धरहराको बारेमा र मज्जा लिन्थेउ साथीहरु माझ । सयौ पटक यसकै छेउ बाट यता उता गरे हुला । जब सर्बसाधारणलाइ माथि जान दिने भयो त्यसको सुरुमै म मेरि आमासंगै धरहारा चढेर काठमान्डूलाइ हेरेको थिए । आठौ तलामा रहेको बार्दलीमा निस्केर काठमान्डूलाइ ३६० डिग्रीमा हेरे पछि हामि आमा छोरा धेरै समय माथि बसेनौ । माथि चढ्नको लागि घुमाउरो तरिकाले बनाएका सिढी चढ्न त्यति सजिलो थिएन, खासगरी बुढाबुढिलाइ । भित्र साघुरो ढुङ्ग्रो जस्तो । बाक्लो गाहोले घेरेको । मान्छेको प्राकृतिक गुण नै हुनुपर्छ जति अग्लो ठाउ पुग्यो, माथि पुग्यो त्यति मज्जा आउने । माथिबाट अरुलाई तल हेर्दा आनन्द आउने । त्यतिबेला सहरको माझमा त्यति अग्लो ठाउ चढेको पहिलो पटक थियो ।  माथि चढ्दै गर्दा स्वभाबिक रुपमा धेरैलाई मनमा आउने डर र खुशी हाम्रो मनमा पनि आएको थियो । कतै हामी नै चढ्दै गरेको समयमा यो स्ताम्ब ढल्यो भने? यहि बेलामा नै भुइचालो आयो भने? डरै डरमा चढियो र झरियो पनि ।

संसारमा सहरको चिनो हुने यस्ता टावर धेरै ठाउमा छन । तर हाम्रो धरहरा जस्तो पुरानो तरिकाले बनेका अरु छैनन् होला अब । न्युओर्कमै रहेको एम्पाएर स्टेट जस्तो अग्लो घर संयोगले आमासंगै चढ्ने मौका जुरेको थियो केहि समय पहिले । हाम्रो सुन्धाराको धरहरा ९० सालको भुइचालो पछि जुध्ध सम्सेरले पुनर्निर्माण गर्न भन्दा केहि वर्ष अगाडी बनेको यो भवन १०२ तलाको र ४४३ मिटर अग्लो छ । हजारौ मानिसले चड्छन प्रत्यक दिन । एम्पाएर स्टेट चडेर माथि पुग्दा बेस्सरी हावा लागेको थियो । मैले आमालाइ सोधे, धरहरा चढ्दा डर लाग्यो कि अमेरिकाको यो भवन भनेर । धरहरा चड्दा धेरै डर लागेको थियो रे आमालाई । हुनत न्युयोर्कको यो भवन ओरिपरी अरु पनि अग्ला अग्ला भवन भएको र देख्दा नै बलिया जस्ता लाग्ने निर्माणले अलि बिस्वास बढेको पनि हुनु पर्छ । मोटो गाह्रो भएको सुरिलो धरहरा स्तम्ब सिडि सिडि चढेर माथि जादा पल्टिञ्छ कि जस्तो लाग्थ्यो । हाम्रो गाउमा रहेको पुरानो काचो इटाले बनेको तिन तले घर पानी पर्दा पनि भत्किन्छ कि लागे जस्तो ।

हाम्रा पुर्खाले त्यतिबेला जस्तो प्रबिधी उपलब्ध थियो त्यहि अनुसार धरहरा बनाए । त्यसले भुइचालो थाम्न सकेन । अब फेरी सोहि ठाउमा सोहि स्तम्भ बनाउनै पर्छ भन्ने के छ? पुनर्निर्माण किन गर्ने? यत्तिकै संरक्षण गरेर राखे हुदैन? मलाइ अहिलेको धरहरा भएको ठाउमा फेरी धरहरा बनेको हर्न मन छैन । आफ्नो आफ्नो मन हो । आफ्नो आफ्नो तर्क हो । धरहरा अब नबनाएकै ठिक । यत्तिकै संरक्षण गरेर राख्दा उक्त क्षेत्र भएर आउने जानेलाइ सधै सम्झाइदिञ्छ, झस्काइदिन्छ कति ठुलो क्षेती भएको थियो ७२ सालको भुइचालोले भनेर । मान्छेहरुलाइ नया घर बनाउदा घोची रहञ्छ । भुइचालो थेग्न सक्ने संरचना बनाउनुपर्छ भनेर झक्झकाइ रहन्छ । हामी नेपालीको जे पनि चाडै बिर्सिदिञ्छौ । यो स्तम्ब नबनाई राख्यो भने कम्तिमा पनि यसले हामीलाई सम्झाई रहनछ, अलार्मले बिहान उठ्न सम्झाइदिए जस्तै । भुइचालो त ९० सालमा पनि गएको हो । धरहरा भत्केको हो तर धरहरा फेरी बन्यो अनि संगसंगै हाम्रो बाउ पुस्ताले बिर्सियो महाविपत्तिको बोध भएन ।

सम्झना रहोस सन २००१ को सेप्टेम्बर ११ गते आतंककारीको हमलामा परि अमेरिकाको न्युओर्कमा रहेका ट्विन टावर भनिने बिस्व ब्यापार केन्द्रका गगन चुम्बी भवनहरु ध्वस्त भएका थिए । अहिले सोहि टावरको जग भएको ठाउमा स्मारक भनाइएको छ । यसै गरि दोस्रो बिस्वयुद्दले ध्वस्त जापानको हिरोशिमा सहर बिनासको सम्झना स्वरुप त्यहा बाकि रहेको जेंबाकु डोमलाइ  हिरोशिमा शान्ति स्मारकको रुपमा जस्ताको त्यस्तै राखिएको छ । विस्व्भारी कुनै कारणले ध्वस्त भएका महवपुर्ण भवन वा अन्य संरचनाहरु जस्ताको त्यस्तै राखेर स्मारक र संग्रहालय बनाइएका उदहरणहरु प्रसस्तै  छन ।

जतिबेला धरहरा बनाइयो, त्यसको ओरिपरि धेरै खाली जग्गा थियो होला । घरहरु कम थिए होलान, अलि पर पर थिए होलान । तर अहिले हेर्नुस त कति धेरै संरचना छन् धरहरा को ओरिपरि, नजिकै नजिकै सम्म । अब यति अग्लो धरहरा बनाउने नै हो भने पनि यो ओरिपरिको घरहरुले गर्दा उपर्युक्त हुदैन । त्यसैले अहिले भत्केको धरहरालाई जे जस्तो छ यस्तै अवस्थामा राखौ ।  यसलाई हजारौ हाम्रा मृतकहरु र लाखौ भत्केका घरहरुको सम्झना आउने गरि स्मारक बनाउ । यो विपत्तिले मृत्यु भएकाहरुको सकेसम्म फोटो राखौ, सम्भब नभए नाम तामाको प्लेटमा कुदेर राखौ । ओरिपरि स्मृति उद्यान बनाउ । रुखहरु र फुलहरु रोपौ । यो कहाली लाग्दो समय  र बिपदको पुस्तौ पुस्ता सम्म सम्झना होस । सुन्धारा क्षेत्रलाई सम्मान प्रकट गरौ र पबित्र क्षेत्रको रुपमा बिकास गरौ । अहिले ढलेको भुइचालोले हामी नेपालीलाइ मात्रै नभएर संस्सर भरिका मान्छेलाई छोएको छ । संसारभरिका मान्छेहरु रोएका छन । स्मारक बनाएर अहिलेकै अवस्थामा राख्यो भने, ट्वीन टावर भत्केको ठाउमा दैनिक हजारौ पर्यटक हेर्न गए जस्तै सुन्धाराको क्षेत्र पनि पर्यटकिय आकर्षणको केन्द्र पक्कै हुन्छ ।

Dr. Giri is a scientist at Kathmandu Institute of Applied Sciences, Kathmandu

No comments:

Post a Comment

Please type your comment in the box below.