यो बर्ष पनि एस.एल.सी को रिजल्ट निस्क्यो। आधा जति फेल भएछन। पास भए जति अब स्थानिय देखि राजधानीका +२ मा भर्नाको लागि दौड धुप चल्छ। कलेजका हाकिमहरु आफ्ना आउरे धुपौरे लगाएर विद्यार्थी खोज्न लागिपर्या होलान्। मेरा साथिहरु मिलेर यो साल देखि नयाँ +२ कलेज खोल्या छन्, अनी तीनिहारू पोखरा देखि नारायणघाट सम्म के पड्ने भनेर सेमिनार दिदै हिड्याछन्। आज भन्दा करिब १५ बर्ष अघिको कुरो अर्कै छ।
हुनत एस.एल.सी दिदा बित्तिकै नै हो काठ्मान्डु गएर अङ्रेजी र कम्पुटर सिक्ने भनेर बुवाले भन्नु भाको, म मख्ख पर्या'थे काठ्मन्डु जान पाइने भयो भनेर। त्यति बेला फेसन आ'थ्यो एस.एल.सी जाच दे'पछि कम्पुटर र अङ्रेजी भाषा सिक्ने। तर खै किन हो त्यो पूरा हुन पाएन। एस.एल.सी दिए पछि रिजल्ट ननिस्किदा सम्म घरमा गोबर ग्यास पलान्ट बनाइयो, बाटो पारीको ३ कठ्ठा नयाँ किनेको खेतमा बेमौसमी मकै लगाइयो, धेरै जसो समय त्यहि मकै खेती मै बित्यो। त्यति बेला बना'को गोबर ग्यासले अहिले सम्म पनि काम गरि रा'छ। रिजल्ट निस्के पछि भने काठ्मान्डु जाने पक्का जस्तै भयो, त्यो पनि नम्बर को कारणले। पहिलो डिभिजन आयो भने साईन्स पड्नु पर्छ भन्थे। त्यो पढ्न लाई अन्त जान भन्दा काठ्मन्डु नै ठीक पर्थ्यो धेरै कारणले। असार तिरै होला बुवाको पछि लागेर नाइट् बस चढेर काठ्मान्डु हिंडेको थिए।
मार्क्सिट संगै सिमेन्टको बोरामा तरकारी पनि। काठ्मान्डुमा बासु अन्कलले भर्खर् घर बनाउनु भा'थ्यो। हाम्रो बास त्यहि हुने भयो। त्यो भन्दा ८ बर्ष पहिले आमाको उपचारको सिलसिलामा गा'थे तर सानैमा गा'हुनाले त्यति मेसो पर्या थे'न। बिहान पख नयाँ बस पार्क ओर्ले पछि अर्को बस चडेर कोटेश्वरतिर लागिम। एस् ओ एस् को नजिकै बाट पूर्व तिर असारमा मकै घारीको बिचमा अन्कलको घर। अहिले त पुरै घरै घर छन् त्यहा। नयाँ ठाउँ, गाऊबाट शहरको जीवन शैली सिक्दै गरेका कुराहरु छन्। अहिले त्यता नगैकन म क्याम्पस भर्ना हुने तिर लाग्छु। साइन्स पड्ने माइन्ड मेकअप काठ्मान्डु आउनु भन्दा अगाडि नै भैसकेको थियो। कुन क्याम्पस पड्ने भन्ने फिक्स भै सक्या थे'न। साइन्सको लागि अस्कल राम्रो हो भन्ने था'थ्यो। बासु अन्कल्, भोजु अन्कलले पनि अस्कलमै साइन्स पढेकोले। तर त्यहा नाम निकाल्न गार्हो थियो। त्यसैले त्यहा नाम् निस्क्यो भने अस्कलमै पढ्ने नत्र अन्त। अन्त भन्नले त्रिचन्द्र वा पाटन क्याम्पस्। एक दिन गएर ३ वटै क्याम्पसको फर्म किनेर ल्याइम बाउ छोराले र फर्म भरेर बुजाइम्। फर्म भर्दा अर्को आपत्। त्यहा त बायो र फिजिकल हुदो रैछ। कुनमा भर्ने त? पहिलो क्ष्रेणिमा एस.एल.सी पास् भए साइन्स पड्ने अनी साइन्स पढे पछि की डाक्टर की इन्जिनिअर बन्ने। यस्तै त थियो त्यतिबेलाको फर्मुला। धन्न बायो पढ्यो भने डाक्टर बन्ने लाइन तिर गैन्छ भन्ने था'भए पछि बायो छानेर फर्म बुजाइयो। फर्म बुजाएर मात्रै नहुने रैछ नी त। प्रबेश परिक्षा दिनु पर्ने रैछ नाम् निकाल्न लाई त। के सोद्ने हो, के पड्ने होला भन्ने अलि अलि चिन्ता पर्यो। अब नेपालिमा पढेको, प्रश्न अङ्रेजिमा सोद्ने। के होला भन्ने डर लाग्यो। नयाँ परिबेसको बसाइ भएकोले खासै प्रबेश परिक्षाको तयारी गरिन। त्यो परिक्षा भने यौटै परिक्षाले सबै क्याम्सलाई काम गर्ने रैछ। अस्कल एक नम्बरमा, त्रिचन्द्रलाई दुई नम्बरमा र पाटन क्याम्पसलाई तीन नम्बरमा राख्या थे। प्रबेश परिक्षा दे पछि, निराजन अन्कल लाई नाम् निस्क्यो भने भर्ना गर्दिनु भनेर घर फिर्ती सवारी भयो, बाउ छोराकै।
काठ्मान्डुबाट केही खबर आएन। त्यति बेला अहिले जस्तो फोन सोन छ्याप-छ्याप्ती थे'न। घर देखि ४ किलोमिटर टाढा लालमटियामा यौटा लाइन थियो। कस्ले फोन गरेर खबर गर्देउस। काठ्मान्डुमा नाम् निस्केन भने घोराही क्याम्पसमै आर्ट्स पढ्ने त होला बुवाले भने पछि भने अलि चिन्ता लाग्न थाल्यो। के होला त भन्ने। खासमा घोराइ जाने, आर्ट्स पढ्ने तिर कुनै चाख थेन। काठ्मान्डु मै साइन्स पढ्नेतिर दिमाक गैसकेको थियो। ऐले सोच्दा साइन्समै इन्टरेस्ट भएर भन्दा पनि आर्ट्स भन्दा साइन्स पढ्नेको इजेत हुने, यति धेरै नम्बर ल्यार पनि साइन्स नपद्दा अरुले के भन्लान भनेर हो जस्तो लाग्छ। पछि काठ्मान्डु गए पछि थाहा भयो कि, सिदै नाम् निस्केन भने स्वबियुले आफ्नो लिस्ट निकालेर भर्ना गर्ने रैछ। पहिलो लिस्ट निकाले पछि दोश्रो र त्यसपछि तेश्रो लिस्ट निस्किने रैछ। मलाई के लाग्या थ्यो भने, एउटा लिस्ट निस्किन्छ होला, त्यसमा नाम् निस्केन भने बाटो बन्द। केही समय पछि फेरि सिमेन्टका बोरामा तरकारि, सरकारि, सुत्नको लागि तन्न, सिरानि, सिरक बोकेर एक्लै काठ्मान्डु तिर लागे। धन्न अन्कल को घर पत्ता लगाए। एस ओ एस सम्म त बसले लगिदियो, त्यसपछि सबै सामान् आफै बोकेर लान नसक्ने। नजिकै को एउटा पसल (हाम्रो गाऊ तिर दोकान भन्थिम्)मा राखेर खेपै खेप गरि सामान् ओसारे। निराजन अन्कल ले भर्ना गर्दी सक्नु भा रैछ। अस्कलमै नाम् निस्के छा त्यो पनि पहिलो लिस्टमै। पछि क्याम्पस गएर हेर्दा था'भो अन्तिम् अन्तिम् तिर निस्केको रैछ। यसरी क्याम्पस जीवन सुरु भ'को अझै सक्या छैन। साइन्स पनि छोडेको छैन। क्याम्पस सुरु भए पछिको कुरा कुनै दिन लेखम्ला, अहिले लाई यत्ति है त।
३ कठ्ठाको मकै बाट कतिको कमाई भयो त ? -Sovit
ReplyDeletesurprisingly,75% of the story coincides to mine, but i had chance to enter Ascol in 2nd list only.
ReplyDeleteThank you dai! for the lovly rememberance which reminds me too these days!