9/30/2015

काठ्माण्डुको घातक वायु प्रदुषण

यो माक्सले कति छेक्ला त धुलो? तर धेरैले मास्क लगाउन
थालेका छन। 
काठ्माण्डुमा दैनिक कामको लागी ओहोर दोहोर गर्नेलाई थाहा छ हामीले स्वास लिने हावा कति फोहर छ । घर बाहिर निस्केर घर फिर्ता हुदासम्म सास फेर्न गाह्रो हुन्छ, उकुस मुकुस हुन्छ । आखा र नाक छोपेर हिड्नु पर्छ । साएद फोहरी हावाले कपाल पनि बिगार्ने भएर होला, आजभोली केटीहरुले कपाल पनि ढाकेर हिडेको देखिन्छ । कपाल र अनुहार च्याप-च्याप लाग्ने हुन्छ । यसले कति मान्छेको स्वास्थमा असार गरेको होला? कति मान्छे यसकै कारणले मरे होलान्? बिस्व स्वास्थ संगठनले (WHO) केहि समय अगाडी निलालेको आकडा अनुसार सन २०१२ मा सन्सारभरी करिब सत्तरी लाख मान्छेले ज्यान गुमाउनु परेछ वायु प्रदुशनको कारणले मात्रै । त्यसमा पनि करिब एक तिहाइ त छिटो छिटो बिकास गरिरहेका हाम्रा छिमेकी चिन र भारत लगायतका एसियन मुलुकमा मात्रै । केहि बर्षदेखि काठ्माण्डुमा भैरहेको बाटोको कामले धुलो यति थपेको छ कि के कुरा गराई भयो र । संगसंगै बैशाखमा गएको भुइचालोले भत्काएका र त्यसैको कारणले भत्काउनपर्ने संरचनाले धुलोको मात्रा बढाइरहेको हामीले देखिरहेकै छौ । भर्खरै सक्केको बर्षा पछि अब वायु प्रदुषण बढ्दै जानेछ । हामीले लिने स्वासमा धुलोका कण र अनेक किसिमका रसायन हुन्छन । कति रसायन तिनै धुलोका कणमा टास्सेका हुन्छन । स्वास प्रस्वासको समस्या देखि क्यान्सर सम्म गराउने तागत राख्छन यी प्रदुषक तत्वले । तर काठ्माण्डुको हावा कति प्रदुषित छ र यसले मानव स्वास्थ्यमा कति असर गरेको छ जान्नलाई पर्याप्त अनुसन्धान भएको छैन । यो लेखमा बिगत केहि बर्षमा अनुसन्धानबाट निस्केका तथ्यका  आधारमा काठ्माण्डुको हावा कति खत्तम छ भन्ने बयान गर्न खोजिएको छ ।

धुलोका कणहरु
धुलो त नाङ्गो आखाले देख्ने गरेरै छ । तर हाम्रो आखाले देख्न नसक्ने सार्है साना साना धुलोका कण पनि हावामा रहेका हुन्छन । धूलाका कणको कुरो गर्दा तिनको नाप बुझ्नु पर्छ। धेरैजसो अनुसन्धान गर्दा धुलोका कण (Particulate Matter-PM) दश माइक्रोन भन्दा साना (PM 10) र २.५ माइक्रोन भन्दा साना (PM 2.5) गरेर नापिएको हुन्छ । नेपालको वातावरण मन्त्रालयले PM10 को मात्रा यदि १२० माइक्रोग्राम प्रति घनमिटर भन्दा बढी भएको हावालाई असस्थ भनेको छ । सन २००८ मा गरेको एक अनुसन्धानले [१] काठ्माण्डुका विभिन्न दश ठाउमा PM10 नाप्दा बार्षिक औसत मात्रा करिब ६४० माइक्रोमिटर प्रति घन मिटर देखाएको छ । त्यो भनेको नेपालको मापदण्डभन्दा पाच गुणा बढी हो । जुन खतरनाक छ हाम्रो स्वास्थको लागी । अन्तरास्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) र WHO का अनुसार यस्ता धुलोका कणहरु क्यान्सरजन्य समूह एकमा पर्छन । धेरै साना कणहरु फोक्सो र रक्त नलि भित्र पस्न सक्छन । DNA mutations, heart attacks र premature मृत्यु पनि गराउन सक्छन यस्ता कणले । यी कणको जलवायु परिवर्तनमा पनि महत्वपुर्ण भूमिका खेल्छन जसको यहाँ चर्चा गरिएको छैन ।   

क्यान्सर जन्य रसायनहरू


भर्खरै प्रकाशित अनुसंधानामक लेखले [२] सार्बजनिक गरे अनुसार काठ्माण्डुको हावामा चीनको बेइजिङ्ग र भारतको दिल्ली जत्तिकै मात्रामा क्यान्सर जन्य पी ए एच (PAHs) को मात्रा पाइएको छ । PAHs एक किसिमका अर्गानिक यौगीकहरु हुन जुन खासगरी फोसिल इन्धनको अपुर्ण जलनबाट (incomplete combustion of fossil fuels) निस्किन्छन ।  यी मध्ये धेरैले क्यान्सर गराउने बिस्वास गरिएको छ । यी रसाएनहरु carcinogenic, mutagenic, र  tetragenic भएको पाइएको छ। त्यसैले धेरै PAHs मध्य पन्द्रवटालाई प्राथमिकतामा राखिएको छ । चिन, जर्मनी र फिनल्याण्डका बैज्ञानिकहरु मिलेर गरेको माथीको अनुसन्धानले धुलोका कणमा टास्सेका यी हानिकारक रसाएन अप्रिल २०१३ देखि मार्च २०१४ सम्म नापेका थिए। पन्ध्र PAHs को बार्षिक औसत मात्रा करिब १५५ ng/m3 रहेछ । यो मात्रा नजिकका प्रदुषित सहरहरु बेइजिङ्ग र दिल्ली जत्तिकै हो । यी रसायनको मात्रा कहिले कम्तिमा १८ देखि कहिले धेरैमा ४५३ ng/m3 नापिएको छ ।  यसले के देखाउछ भने कुनै मौसममा यस्ता रसाएन कम हुन्छन र कुनै मौसममा सार्है धेरै । मनसुन पुर्बका महिनाहरुमा यी रसाएनको मात्रा अत्याधिक धेरै र मनसुन सिजनमा कम देखिएको छ । पानी पर्ने समयमा हावामा रहेका यी प्रदुषकहरु पखालिएर जान्छान । यी रसायनहरूको बिशाक्तता  (toxic equivalent quantity) भने 26.२ ng TEQ/m3 पाइएको छ । WHO को मापदण्ड अनुसार यो मात्रा १ भन्दा बढी भयो भने स्वास्थको लागी हानिकारक हुन्छ । यसको अर्थ WHO ले तोकेको मापदण्डभन्दा हामीले स्वास लिने हावा २६ गुणा बढी विषाक्त छ। यो बिशाक्तता मनसुन पछि ४०.५  सम्म पुगेको छ । 

माथी उल्लेखित प्रदुषकहरुले हाम्रो स्वास्थमा प्रत्यक्ष्य कति हानी पुर्याएका छन? कति मान्छेलाई क्यासंर लाग्नुमा काठ्माण्डुको हावाको कति भूमिका छ? यसको बारेमा खासै अनुसन्धान भएको पाइएको छैन तर विस्वका अन्य ठाउमा भएका अनुसन्धानको आधारमा भन्नु पर्दा पक्कै पनि काठ्माण्डुको हावाले सयौ देखि हजारौ मान्छेलाई क्यान्सर भएको हुनु पर्छ । अझ दिनभरि बाटोतिरै काम गर्नुपर्नेहरु जस्तै पुलिसहरुको स्वास्थमा गम्भिर असर परेको हुनुपर्छ । 

के ले गर्छ प्रदुषित पार्छ काठ्माण्डुको हावा?
काठ्माण्डुको हावा यति प्रदुषित हुनमा खासगरी डिजेल र बायोमासको महत्वपुर्ण भूमिका रहेको अनुसंधानाहरुले देखाएका छन । डिजेल गाडीहरुको इन्धनको रुपमा प्रयोग हुदै आएको छ । उपत्यकामा करिब सात लाख गाडीहरु गुड्छन। केहि वर्ष यता खासगरी लोडसेडिङ्ग हुदा डिजेलले चल्ने करिब ढाइ लाख जेनेरेटरहरु पनि छन ।  डिजेल संगै काठ बाल्ने, कृषीजन्य सामग्री बाल्ने कार्यले  पनि यी क्यान्सरजन्य प्रदुषण थपिएका हो । यस्ता हानिकारक प्रदुषकहरु लामो लामो दुरी हावामा उडेर पुग्छन । अन्य देशमा र एक देश बाट अर्को देशमा यस्ता हानिकारक तत्व पुगेको प्रमाणित भै सकेको छ । जस्तो: चीनमा निस्केका प्रदुषण प्रशान्त महासागर पार गरेर अमेरिका पुगेको अनुसन्धानले देखाएको छ। हाम्रा छिमिकी देशहरुमा भैरहेको द्रुत गतिको विकासले गर्दा ति देशले हानिकारक प्रदुषक उत्सर्जन गरेका छन । के ति प्रदुशकहरु नेपालसम्म आइपुगेका छन ? के भारत तिरबाट आउने हावाले संग संगै क्यान्सर जान्य तत्व ल्याउछ? कि चिन तिर बाट पनि आउछ? यो अनुसन्धानको बिषय हो ।  

अरु के के केमिकल छन हावामा? 
एक अर्को अनुसन्धानले पकनाजोल क्षेत्रमा नाप्दा खासगरी मनसुन पहिले ओजोनको मात्रा अत्यन्तै धेरै  (२७ ppb) पाएको छ [३]  तिनवटा अक्सिजनका परमाणु मिलेर बनेको ओजोनले पृथ्बीको माथिल्लो तहमा सुर्यबाट आउने पराबैजनी किरण रोक्न सहयोग गर्छ । तर जब यहि ओजोन हामीले स्वास लिने हावामा हुन्छ, त्यतिबेला हाम्रो स्वास्थलाइ हानि गर्छ । त्यसैगरि विभिन्न किसिमका अन्य ions पनि हुन्छन हावामा । जस्तै: sulfate, nitrate, nitrite, chloride, oxalate, ammonium, potasium, magnesium, calcium etc. यी आयोन भने थोरै मात्रामा मात्रै पाइएको देखिएको छ [४]

काठ्माण्डुको हावाको प्रदुषण र यसले हाम्रो स्वास्थमा पारेको असर बुझ्नलाई अझै तान्ने अनुसन्धान हुन जरुरि छ । संगसंगै यी प्रदुषण कम गर्न सरकारले के गर्ला त्यो त हेर्न समय लाग्ला। 

[१] Majumder, A. K. et al. Atmos. Poll. Res. 3, 132-142 (2012).
[२] Chen, P. et al. Sci. Total Environ. 538, 86-92 (2015).
[३] Putero, D. et al. Atmos. Chem. Phys. Discuss. 15, 22527-22566 (2015).
[4] Shakya, K. M. et al., Aero. Air Qual. Res. 10, 219-230 (2010).

No comments:

Post a Comment

Please type your comment in the box below.