2/13/2017

प्रश्न-उत्तर: काठमाण्डुको वायु प्रदुषण

Photo: Air pollution in KTM. Source: http://nepalitimes.com/page/every-breath-you-take-air-pollution
काठमाण्डु उपत्यकामा अहिले वायु प्रदुषण अत्यधिक छ । आफै वायु प्रदुषण सम्बन्धी अनुसन्धानमा संलग्न भएको (मेरा अन्तरास्ट्रिय जर्नलमा वायु प्रदुषण सम्बन्धी पाँच वटा बैज्ञानिक लेख प्रकाशित छन, तर नेपाल सम्बन्धित हैन है । नेपालको वायु सम्बन्धी अनुसन्धान अहिले गरिराखेका छौ जसको नतिजा आउन केहि समय लाग्ला ।) र ब्यक्तिगत चाख भएको आधारमा सर्बसाधारणले सजिलै बुझ्ने हिसाबले यो ब्लगमा प्रश्न उत्तरको रुपमा प्रदुषण सम्बन्धी जानकारी दिने प्रयास गरेको छु ।

प्रश्न १ : कति धेरै प्रदुषित छ त काठमाण्डुको हावा?
उत्तर: धेरै नै प्रदुषित छ । आँखाले प्रष्ट देखिन्छ धुलो र धुवा । नाकले थाहा पाउछ सजिलै । स्वास फेर्न गाह्रो हुन्छ । यति धेरै धुलो र धुवा छ कि एकघण्टा बाहिर निस्क्यो भने लगाएको लुगा फोहर भैहाल्छ, नाक भित्र कालो जम्मा भैसकेको हुन्छ । घरको छतमा गएर हेर्यो भने प्रत्यक दिन सफा गरे पनि धुलो जमिसकेको हुन्छ । घर भित्रैको अलि चिल्लो खाले सोफामा, झ्यालको फ्रेममा यसो औलाले छोएर हेर्नुस धुलो भेट्टिहाल्छ । अझ बाटो बनिरहेको ठाउ तिरबाट हिड्यो भने त स्वास फेर्ने कस्तो गाह्रो हुन्छ । 

हावा कति प्रदुषित छ भनेर बैज्ञानिक तवरले नाप्न धेरै प्रदुषकहरुको नाप लिनु पर्छ । ति मध्य PM10, PM2.5, PM1, र TSP जस्ताको नाप काठमाण्डुको केहि ठाउमा नियमित लीराखेको छ । त्यो नाप अनुसार गत आइतबार (12 February 2017) रत्नपार्कमा यी नाप तलको चित्रमा देखाइए अनुसार पाइए । नेपालको रास्ट्रिय मापदण्ड भन्दा बढि। 

बिस्व स्वास्थ संगठन (WHO) ले भने अनुसार PM10 = 50 र PM2.5 = 25 भन्दा बढि भयो भने हावा दुषित हुन्छ । यो मापदण्ड अनुसार त रत्नपार्कको हावा लगभग ६ गुणा खराब (PM2.5 अनुसार) देखियो । 

प्रश्न २ : संसारका अरु सहरको तुलनामा कति प्रदुषित हो त काठमाण्डु?  यति नम्बरमा पर्यो उति नम्बरमा पर्यो भन्छन, खास कुरो के हो?
उत्तर: यो प्रश्नको उत्तर दिन पनि त्यति सजिलो छैन । हावामा रहेका धेरै हानिकार प्रदुषक तत्वहरु मध्य कुन कुन तुलना गर्ने हो त्यसमा भर पर्दछ । जस्तै भारतको शहर दिल्लीको मन्दिर मार्गमा भएको स्टेसनले PM2.5 को गत आइतबार २४ घन्टाको औसत मात्रा ८६.८ देखायो । रत्नपार्कको उही दिनको PM2.5 लगभग दुइ गुणा धेरै । महिनाभरिको औसत वा वर्ष भरिको औसत तुलना गर्यो भने बल्ल सहि आकडा आउन सक्छ । फेरी पनि अन्य प्रदुषक तत्वको स्थिति फरक हुन सक्छ ।

Environmental Performance Index भन्ने अमेरिकाको यल बिस्वबिध्यालबाट निस्किने रिपोर्टले पनि एक किसिमको तुलना गर्छ देशहरुको । प्रत्यक देशले वातावरणिय मुद्दाहरुलाई कतिको उच्च प्राथमिकतामा राख्छन, त्यसको आधारमा नम्बर दिएर दिएर गरिने यो तुलनाले वायु प्रदुषणको मात्रै नभएर अन्य नितिगत नाप पनि लिंछ । यो २०१६ को इण्डेक्स अनुसार फिनल्याण्ड १ नम्बर (सबै भन्दा राम्रो), भारत १४१ नम्बरमा र नेपाल १४९ नम्बरमा रहेको छ । 

जे जसरि तुलना गरे पनि काठमाण्डुको हावा एकदमै खराब मध्यकै पर्छ । 

प्रश्न ३ : के के रोगहरु लाग्छ यस्तो दुषित हावाले?
उत्तर: वायु प्रदुषण सम्बन्धी रोगले बर्षेनी लाखौ मान्छेले ज्यान गुमाउछन । नेपालमा पनि हजारौ मर्छन । प्रदुषित हावाले खासगरी स्वास प्रस्वास सम्बन्धी रोग लाग्छ । दम, फोक्सोको रोग, मुटुको रोग- हार्ट अट्याक पनि, क्यान्सर आदी । डिमेन्सिया भन्ने दिमाकको रोग पनि दुसित हावाको कारण लाग्न सक्ने कुरो आएको छ । दुसित हावाले तुरुन्तै मर्ने त हैन तर केहि वर्ष पछि, आयु भने पक्कै घटाउछ । गाउ तिर बसेको मान्छे काठमाण्डु आयो भने केहि दिनमै खाक्खाक र खुक्खुक गर्ने भने पक्कै हुन्छ । 

प्रश्न ४ : पत्रिकामा देखेको जस्तो बिहान मर्निङ्ग वाक गर्न हानिकारक हो?
उत्तर: हो । काठमाण्डुको हावा बिहान र सांझ अत्यन्तै दुषित देखिएको छ, दिउसको तुलनामा । तलको चार्ट हेर्नुस त । 
काठमाण्डुको औसत PM2.5, February 12, 2017
बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ७ बजे पछि अत्यधिक प्रदुषण छ । त्यसैले खुब ज्यान बनाउछु भनेर ब्यान ब्यानै दौडिदा ज्यान झन खराब होला । 

प्रश्न ५ : यो हावामा के चिज छ जसले हाम्रो स्वास्थलाइ हानि गर्छ?
उत्तर: काठमाण्डुको हावामा सुरुमा भने झैँ धुलोका कणहरु त टन्नै छन् । जति साना कण भए त्यति नै फोक्सोको भित्र भित्र सम्म पस्छन ।  PM2.5 भनेको २.५ माइक्रोन भन्दा साना कण हुन जुन सजिलै फोक्सो भित्र पस्छन । यस्तो कण हाम्रो कपालको रौ भन्दा करिब पच्चिस गुणा साना हुन्छन । आँखाले देख्न नसकिने । त्यस्तै गरि Polycyclic Aromatic Hydrocarbon (PAH) पनि पाइएको छ काठमाण्डुको हावामा । यो PAH ले क्यान्सर मज्जाले गराउछ । त्यसै गरि Ozone, NOx, SOx, chloride, sulfate, nitrate आदी रसायनहरू पनि छन । ब्रिस्त्रित जान्नको लागी अझै अनुसन्धान हुन बाँकी छ ।

प्रश्न ६ : प्रदुषण चाइना, इण्डियाबाट पनि यता आयो भन्छन नि के हो खास कुरो?
उत्तर: केहि प्रदुषक तत्व एक ठाउबाट अर्को ठाउमा जान्छन । कति सम्म भने - चीनको बेइजिङ्ग तिरको प्रदुषित हावा अमेरिकाको पश्चिमी तट तिर सम्म पुगेको अनुसन्धानले देखाएको छ । त्यसैगरि चीनकै एक ठाउबाट अर्को ठाउ । सहारा मरुभूमिको धुलो सयौ किलोमिटर परका सहरसम्म पुगेको पनि पाइएको छ । तर नेपालमा दक्षिण वा उत्तर तिरको प्रदुषित हावा आएको छ कि छैन, कति आएको छ भन्ने अनुसन्धान रिपोर्ट मैले भेटिन है ।  

प्रश्न ७ : किन यति साह्रो दुषित भयो काठमाण्डुको हावा?
उत्तर: अहिले देख्खेको प्रदुषण त धुलो उडेर हो । यो धुलो उड्न कम गर्ने हो भने केहि हद सम्म कम हुन्छ । तर नादेख्खिने त्यो सानो कण PM2.5 त गाडिले निकाल्ने धुवाले गर्दा हो । त्यसैले स्वच्छ गाडि नहुदासम्म यस्तै हो । त्यसमा पनि डिजेलले चल्ने गाडी अझै खराब हुन्छन हावा प्रदुषित गराउन । अनि इट्टाभट्टा र दाउरा बाल्ने पनि एक हदसम्म जिम्मेवार छ । तर फेरी पनि गाडि नै मुख्य कारण हो ।

प्रश्न ८ : यस्तो खराब हावाबाट जोगिने उपाए के होला?
उत्तर: ब्यक्तिगत रुपमा गर्न सक्ने भनेको बाहिर जाने परे मात्र जाने, नत्र नजाने । बिहान ११ बजे अगाडी झनै निस्किदै ननिस्कने । बाहिर निस्किदा अनिबार्य मास्क लगाउने । तर मास्क पनि थरीथरीका छन बजारमा । धेरै जसोमा धुलोका कण भन्दा ठुला प्वाल देखिन्छन, त्यस्ता मास्काले खासै काम गर्दैनन् । तिन तहले बनेको सर्जिकल मास्क अलि राम्रो छ अरु भन्दा ।

प्रश्न ९ : यो त ब्यक्तिगत कुरो भो । सरकारले के गर्नु पर्छ त?
उत्तर: सरकारले सर्बप्रथम धुलो कम गर्ने उपाए गर्नु पर्यो । बाटो छिटो छिटो पिच गर्नु पर्यो । दिन दिनै पानी छर्कनु पर्यो धुलो घटाउन ।

त्यसपछि, प्रदुषित गाडि गुड्न दिन भएन बाटोमा । हरियो स्टिकर सहि जांच गरेर मात्रै दिनु पर्यो, सबैलाई हैन । अहिले त पैसा दियो भने जस्तो गाडीलाइ पनि हरियो स्टिकर दिन्छ रे । 

जति धेरै गाडि तेती धेरै प्रदुषण । गाडि कम गर्ने उपाए अपनाउनु पर्यो । धेरै मान्छे बोक्ने गाडी (mass transit system) लाइ प्राथमिकता दिनु पर्यो ।

अनि सडकमा हुने जाम कम गर्नु पर्यो । कलंकीबाट कोटेश्वर पुग्न जामले गर्दा बिस मिनेटको बाटोलाई कम्तिमा एक घण्टा लाग्छ । त्यो भनेको तिन गाडि बराबरको प्रदुषण एक गाडिले गर्ने हो ।


प्रश्न १० : एक दिनभरि रत्नपार्कमा बस्यो भने कतिवटा चुरोट ताने बराबरको हुन्छ त?
उत्तर: चुरोट खानाले क्यान्सर लाग्छ, मान्छे मर्छन भन्ने अब आम बुझाइ भयो ।  आजभोलि सर्बसाधारणले सजिलै बुजुन भनेर वायु प्रदुषणलाइ चुरोट तान्नेसंग तुलना गरिन्छ । यसोगर्दा चुरोट तान्नाले मर्ने मान्छेको नम्बर र वायु प्रदुषणले मर्नेको नम्बर संग तुलना गर्ने हो ।

प्रश्न नम्बर १ को उत्तरमा दिएको टेबलमा देखाए जस्तै उक्त दिन रत्नपार्कको दैनिक औसत PM2.5 मात्रा १४४ थियो । यदि एकजना मान्छे रत्नपार्कमा बसी राख्यो भने यो वायु प्रदुषण उसले लगभग प्रत्यक दिन ७ वटा चुरोट ताने बराबर हो ।

No comments:

Post a Comment

Please type your comment in the box below.