4/10/2010

उच्च माध्यमिक तहमा प्रयोगात्मक कक्षा: Practical Classes in Higher Secondary Level Education in Nepal

(केहि बर्ष यता प्लस टु क्याम्पस धमाधम खुलेको खुलेइ छन। बड्दो बिध्यार्थीको चापलाई हेर्दा यो राम्रै हो। तर तिनको गुणस्तरको चेक जाच कसैले गरेको पाइदैन। अधिकान्सको ध्यय ब्यापार नै हो। खास गरि बिज्ञान बिषयको लागी चाहिने laboratory र तिनमा हुने प्रयोगात्मक कक्षाको बारेमा 2006 मा अन्नपुर्ण पोस्टमा यौटा लेख छापेको थिय। आफ्नै अनुभव र देखे जानेको कुरा। त्यसै लेख लाई यहाहरु माझ राखेको छु। भर्खर SLC सकियको, प्लस टु हरु बिध्यार्थी तान्नलाई अब मरेर लाग्छन। यसै मेसोमा यो लेख सान्दर्भिक होला भन्ने लाग्छ। -Naya Laure)

    विद्यार्थीले व्यवहारिक र जीवनपयोगी, प्रयोगात्मक शिक्षा पाउनु पर्छ भन्ने सन्दर्भमा नेपालमा पनि लामो समयदेखि बहस चलिराखेको छ र यसै विषयलाई लिएर विभिन्न पक्षहरुबाट विभिन्न किसिमका आन्दोलन पनि हुँदै आएका छन् । सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई व्यवहारिक जीवनमा र प्रयोगात्मक रुपमा अध्ययन गर्ने मौका पाएमा मात्र त्यो सिकाई दीर्घकालिन र सार्थक हुन्छ । इन्जिनियरिङ्ग, चिकिक्साशास्त्र, कृषिसहित केहीमा बाहेक अन्य क्षेत्रमा पुरा रुपमा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा लागू गरिएको अथवा प्रयोग गरी हेरिएको निकै कम पाईन्छ । उच्च माध्यमिक तहमा तीनवटा संकायमा पढाइ भइराखेको छ । मानविकी र वाणिज्यको अहिले कुरा नगरौं । विज्ञान संकायको विषयहरुमा २५ प्रतिशत प्रयोगात्मक पाठ्क्रम र सोही अनुसारको कक्षा निर्धारण गरिएको छ । यसबाट केही मात्रामा भएपनि विज्ञानलाई प्रयोगबाट सिक्ने लक्ष्य राखिएको छ । तर उक्त लक्ष्यको सानो अंश पनि विद्यार्थीहरुले सिक्न नसकेको कुरा प्रष्ट पनि छ । देश द्वन्दले पिल्सिएको अहिलेको समयमा काठमाण्डौ केन्द्रित शैक्षिक व्यवसाय र व्यापार अन्यभन्दा सुरक्षित मानिएको छ । यसमा हुने गलत क्रियाकलापतिर कसैको ध्यान पुग्न सकेको छैन ।

    विज्ञानका प्रयोगात्मक कक्षा संचालन गर्नको लागि सबैभन्दा महत्वपूर्ण भनेको सुविधासम्पन्न प्रयोगशालाको स्थापना हो । आयातित वस्तु प्रयोग हुने यस्ता प्रयोगशाला निर्माण गर्न महंगो पर्न जान्छ । व्यापारिक उद्देश्यले निजी स्तरमा खुलेका उच्च माध्यमिक विद्यालयहरुलाई प्रयोगशाला निर्माण र संचालन एउटा बोझिलो काम भएको छ । जसले गर्दा स्वभाविक रुपमा यो क्षेत्रमा समस्या देखिएको छ र त्यसको परिणाम भनेको विद्यार्थीमा प्रयोगात्मक ज्ञान वृद्धि नहुनु हो । ११ र १२ कक्षामा चाहिने आधारभूत विज्ञानका प्रयोगशालामा रसायनिक, भौतिक र जैवीकका साथसाथै कम्प्यूटरका प्रयोगशाला हुन् । एक पटक प्रयोगशाला स्थापित भइसकेपछि पनि नियमित संचालन गर्न त्यत्तिकै खर्चिलो हुन्छ । जस्तैः रसायनिक प्रयोगशालाको कुरा गरौं । त्यहाँ प्रयोग हुने सबै रसायनहरु विदेशबाट आयात गर्नु पर्दछ । प्रयोग गर्दै जाँदा रसायनको नियमित आपूर्ति गरिरहनु पर्दछ । त्यसकारण अधिकांश उच्च माध्यमिक विद्यालयहरुले झारा टार्ने किसिमले मात्र प्रयोगशाला स्थापना र संचालन गर्ने प्रयास गर्दछन् । क्षमताभन्दा बढि विद्यार्थी राखेर प्रयोगात्मक कक्षाहरु संचालन गर्नु यसकारणले बाध्यता छ । एउटा स्तरीय प्रयोगशालाको मापदण्ड के ? कम्तिमा कति आधारभूत भौतिक पूर्वाधार र प्राविधिक सुविधा प्रदान गर्ने कलेजलाई मान्यता दिने ? एउटा प्रयोगशालामा एकपटकमा कति विद्यार्थीलाई प्रयोगात्मक कक्षामा सामले गर्ने ? एक प्रयोगात्मक कक्षा कति समयको हुने ? कम्तिमा कतिवटा प्रयोगहरु ऋनिवार्य गराउनु पर्ने हो ? यी सबै प्रश्नहरुको उत्तर उच्च माध्यमिक शिक्षा परिषद् सित छैन । उ.मा.वि.हरुले आफ्नो सुविधा अनुसार माथिका प्रश्नका उत्तर दिन्छन् र काम पनि त्यसै अनुसार गरिरहेका छन् । यी कुराहरुको स्तर निर्धारण गरिनु पर्दछ । अहिले उच्च माध्यमिक परिषद् कुनै निर्णय लिन सक्ने वा लिइएका निर्णय कार्यान्वयन गर्न नसक्ने स्थितिमा रहेको बुझिन्छ । तर पनि आशा गरौं उच्च माध्यमिक तहमा स्तरीय प्रयोगात्मक कक्षाका लागि उ.मा.शि. परिषद्ले कदम चाल्नेछ ।

    सामान्यतया सबै उच्च मा.वि.हरुमा प्रयोगात्मक पाठ्क्रमहरुलाई महत्व नदिएको पाइन्छ । प्रयोगात्मक कक्षामा विद्यार्थीलाई सिकाउँदा अनुभवि शिक्षकको निकै महत्व हुन्छ । कतिपय सैद्धान्तिक अवधारणालाई व्यववहारमा प्रयोग गरेर देखाउनु सजिलो हुँदैन । त्यसबेला अनुभवको अभाव खड्किन्छ । तर बिडम्बना नै भनौं । अधिकांश उ.मा.वि.हरुमा वरिष्ठ, अनुभवी, पुराना शिक्षकहरु सैद्धान्तिक कक्षामा मात्र सिमित छन् । प्रयोगशालामा बढो मुस्किलले मात्र पाइला टेक्छन् । यसमा दुईवटा कारण छन् । कि त ती शिक्षकहरु नै प्रयोगात्मक कक्षामा रुची राख्दैनन् वा कलेज संचालकहरुले आर्थिक लाभका लागि उनीहरुलाई प्रयोगात्मक कक्षा दिदैनन् । किनभने कलेज संचालकहरुमा के भ्रम छ भने प्रयोगशाला त जसरी तसरी चलिहाल्छ । फलस्वरुप अधिकांश प्रयोगात्मक कक्षा नयाँ शिक्षक (केहीमा त प्रयोगशाला सहायक) ले मात्र संचालन गर्छन् । यसरी प्रयोगात्मक कक्षा भनेको झारा टार्ने मात्र हो र यसरी नै कम रकम खर्च गरेर पनि कलेज चलाउन सकिन्छ भन्ने धारण ब्याप्त छ भन्नलाई आधार तयार हुन्छ । प्रयोगात्मक परीक्षाको परीक्षाभार २५ प्रतिशत निर्धारण गरिएपनि वास्तवमा सैद्धान्तिक भन्दा प्रयोगात्मक कक्षा बढी हुनु पर्ने हो । तर यथार्थता अर्कै छ । केही उ.मा.वि.हरुमा एक हप्तामा ४५ मिनेटको एउटा प्रयोगात्मक कक्षा हुन्छ । उच्च माध्यमिक तहमा निर्धारण गरिएको पाठ्यक्रम अनुसार गर्नुपर्ने प्रयोगहरुमध्ये कुनै पनि उ.मा.वि.ले पचास प्रतिशतसम्म पनि प्रयोग गराएको पाइ“दैन । यसैबाट थाहा हुन्छ विद्यार्थीले कति सिक्लान् ? सैद्धान्तिक ज्ञान त घरमै बसी किताब पढेपनि लिन सकिन्छ तर प्रयोगात्मक ज्ञान लिन प्रयोगशालामा नै गई सिक्नुको विकल्प छैन । अहिले करिब पच्चीस हजार विद्यार्थीले उ.मा.वि.हरुमा विज्ञान विषय पढिरहेका छन् तर उनीहरुको प्रयोगात्मक ज्ञान पाउने अधिकारमाथि खेलवाड गरिएको छ । उच्च माध्यमिक शिक्षा शुरु भएको एक दशक बितिसक्दा पनि यसमा स्तर निर्धारण नहुनु अत्यन्त दुःखको कुरा हो । 

    नियमित कक्षा स्तरीय बनाउन तत्सम्बन्धी परीक्षा र परीक्षा प्रणालीलाई पनि नियाल्न जरुरी हुन्छ । कुनै निशाना बिनाको सक्रियता फलदायी हुँदैन । यो क्षेत्रको पढाई पनि परीक्षा केन्द्रित छ । यस सन्दर्भमा पनि निजी उ.मा.वि.हरुलाई हुर्नु पर्दछ । उच्च मा.वि.को अहिलेसम्मको रिजल्ट हेर्दा त्रि.वि. को आइ.एस्सी. भन्दा धेरै राम्रो नम्बर आएको पाईन्छ । यसको अर्थ हुन्छ अहिलेका उ.मा.वि.मा सुविधा सम्पन्न प्रयोगशाला छन् र सोही अनुसारको अध्यापन हुन्छ । तर व्यवहारिक रुपमा उ.मा.वि.का विद्यार्थीहरु प्रयोगात्मक ज्ञानमा पनि अगाडि छन् त ? यसो भन्नलाई हामीसँग आधारहरु छैनन् । किनभने धेरैजसो उ.मा.वि.मा प्रयोगात्मक परीक्षाको अंक सम्बन्धित कलेजका प्रशासनिक व्यक्तिहरुले निर्धारण गर्छन् न कि आन्तरिक वा वाह्य परीक्षकले । यसमा उनीहरुको बाध्यता के छ भने कम नम्बर दियो भने विद्यार्थी आउँदैनन् कि भन्ने । अनि शिक्षकहरुलाई जागिर जोगाउने । प्रयोगात्मक परीक्षामा कलेजले भनेजति नम्बर नदिएका कारण वाह्य परीक्षक नै फिर्ता गरेको उदाहरण पनि छ ।  यसको सबभन्दा नकारात्मक असर विद्यार्थीहरुमा के देखिएको छ भने प्रयोगात्मक ज्ञान सिक्न अरुची उठ्नु । किनभने जस्तो गरे पनि परीक्षामा राम्रै नम्बर आउ“छ । भर्नाका लागि कतिपय विद्यार्थीहरु त कुन कलेजमा प्रयोगात्मक परीक्षामा बढी नम्बर दिन्छ भनेर हिड्ने गरेको पाइएको छ । 

    विद्यमान कमीकमजोरीलाई हटाउन सबै पक्षले ध्यान दिनु जरुरी छ । त्यसमा सम्बन्धित शिक्षकहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । स्तरीय प्रयोगशाला निर्माण गर्न उ.मा.शि. परिषद्ले निजी कलेजहरुलाई आर्थिक सहयोग गरेर हुन्छ वा प्रयोगशाला सामग्री खरिदमा केही छुट दिएर हुन्छ, सहयोग गर्नु पर्दछ । अब सम्बन्धन दिँदा स्तरीय प्रयोगशाला बनाइसकेकालाई मात्र दिनु पर्दछ । कलेजहरुले पनि यसमा विशेष ध्यान दिनु जरुरी छ । समय समयमा प्रयोगशालाको गुणस्तर र स्तरलाई उ.मा.शि. परिषद्ले अनुगमन गर्नु पर्दछ । खाली नयाँ शिक्षकमात्र होइन, पुराना शिक्षकलाई पनि प्रयोगशालामा छिराउनु प¥यो । १० प्रतिशत होइन, कम्तिमा पनि २५ प्रतिशत प्रयोगात्मक कक्षा चाहिन्छ । अहिले नयाँ शैक्षिक सत्र शुरु भएको छ । माध्यमिक तह उतीर्णपछि उच्च माध्यमिक तहको अध्ययनको लागि कुन कलेज छान्ने विषयमा अभिभावक र विद्यार्थीहरु अल्मलिएका छन् । नयाँदेखि पुराना उ.मा.वि.हरुले विद्यार्थी तान्नका लागि अनेक चमकधमक देखाउने गरेका छन् । विज्ञान पढ्ने विद्यार्थीहरुले कलेज छान्दा सैद्धान्तिक कक्षाको साथसाथै उपयुक्त र स्तरीय प्रयोगशाला भएकोलाई प्राथमिकता दिएर जानु प¥यो । अनि मात्र गुणस्तरीय प्रयोगात्मक शिक्षा विद्यार्थीले प्राप्त गर्न सक्छन् ।

— वसन्त गिरी   
(लेखक त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका साथै उच्च माध्यमिक तहमा पनि अध्यापनरत हुनुहुन्छ)

2 comments:

  1. Reality yei ho kasaile sundain
    You talked about +2 only I saw a lot of drama in engineering also so I dont agree with ur statement that Engineering institute are doing good with practical education ...........no not at all.It may be correct for IOE(I dont know) but rest of other private engineering college( I worked at allmost all of them except KEC) are too poor regarding practical classes. One of the very famous engineering college in middle of the city doesnt let me to get in chemistry lab but I was paid for the classes. I f they had let me to get in that might cost a lot for them this is because thet dont have anything inside.
    Dherai kura lekhna man thyo kunai din lekhamal aba
    Uhi pyaro bhai
    Dallas

    ReplyDelete
  2. अध्यापनरत हुनुहुन्छ?

    ReplyDelete

Please type your comment in the box below.