परिचय
काठमाडौको वायु प्रदूषण बारे कमै मानिस अनभिज्ञ होलान् । विहान सुकिला लुगा लगाएर काममा निस्केको मानिस बेलुका घर फर्कंदा उसको लुगा कालो न कालो हुन्छ । सुखयाममा पानीको हाहाकार भएको काठमाडौका बासिन्दालाई अर्को कामको चाप थपिन्छ भने मानसिक रुपमा टाउको भारी हुनु, काम गर्न मन नलाग्ने, नाकमा कालो फोहर संकलन हुने लगायतका शारीरिक समस्याहरू देखिन्छ । अझ ट्राफिक जाम भएको अवस्थामा रिङ्गटा लाग्ने र वाकवाकी पनि लाग्दछ । यो काठमाडौबासीको लागि आम समस्या बनेको छ । मानिसले बाच्नको लागि आवश्यक पर्ने प्राणवायु (Oxygen) को स्रोत नै खुल्ला वायुमण्डल हो । तर काठमाडौंको वायुमण्डल दिन प्रति दिन प्रदूषित हुदै गइरहेको छ । शुद्ध वायुमा प्राणवायु लगायत अन्य ग्यासको निश्चित अनुपात वा परिणाममा हुन जरुरी पर्दछ । वायुमण्डलको उक्त समानुपातिक संरचना खलवलिएको छ अर्थात् आज काठमाडौको वायु प्रदूषित छ भनी प्रमाणित गराउन कुनै विशेषज्ञले अनुसन्धान गर्न जरुरी छैन । सामान्य मानिसले पनि श्वास लिएको अनुभवको आधारमा सजिलैसग भन्न सक्दछ । यसको प्रत्यक्ष्प्रमाण उपत्यका बाहिरबाट आउने मानिसहरु शहरको भित्री भागमा एक दिनमात्र घुम्यो भने उ तत्काल बिरामी परिहाल्छ ।
काठमाडौंको वायु प्रदूषण हुन थालेको धेरै वर्ष भएको छैन । सन् १९९३ मा एन्फोले गरेको अध्ययनमा पुतलीसडकमा PM10 को मात्रा ९२ माइक्रोग्रँम प्रति घनमिटर पाइएको थियो तर दश वर्षपछि उक्त कणको मात्रा २६० माइक्रोग्रँम प्रति घनमीटरको हाराहारीमा पुगेको छ । यसले वायु प्रदुषणको स्पष्ट चित्रण गर्दछ । काठमाडौ उपत्यकामा वायु प्रदूषणको प्रमुख स्रोतहरू ईंट्टा भट्टा, सवारी साधन, अन्य साना कल–कारखानाहरु मानिन्छ्न। हाल इटा भट्टामा वायु प्रदूषण कम गराउने आधुनिक प्रविधि जडान भएका वायु प्रदूषणमा यसको भूमिका कम भएको छ । वर्तमान अवस्थामा डिजेल तथा पेट्रोल गाडीहरु नै काठमाडौंको वायु प्रदूषित पार्ने प्रमुख स्रोत मानिन्छ ।