उत्तम बाबु श्रेष्ठ
बैज्ञानिक अनुसन्धान, समाचार र सुचना प्रकाशनको लागि विश्व कै उत्कृष्ट ‘साइन्स’ पत्रिकाको प्रकाशक तथा अमेरीकाको वैज्ञानिकहरुको सवैभन्दा ठुलो संस्था अमेरीकन एसोसिएसन फर दि एडभान्समेन्ट अफ साइन्सको गत फेव्रुवरी १४ देखि १८ सम्म बोष्टनमा आयोजित बार्षीक सम्मेलनमा भाग लिंदाका अनुभुतिहरु समेटेर यसरी व्लग लेख्नेछु भनेर कल्पनासम्म पनि गरेको थिइन । आफ्ना जीवनका उर्वर समयहरु ‘रोएर मर्ने विज्ञान’ को सानो अंशलाई पढेर विताएको र अझै पनि त्यो क्रम र कोसिस जारी रहेकोले ‘साइन्स’ पत्रिकाको यो साता (जुन १३) को अंकमा छापिएको नेपाल सम्वन्धि समाचार देखेर रोमान्चकताका विच केहि लेख्न मन लाग्यो ।
‘विश्व परिपेक्षमा विज्ञान र प्रविधी’ प्रमुख नारा रहेको उक्त सम्मेलनका अतिथी थिए, विश्व कै गरिब देश मध्येको एक रुवाण्डाका राष्टपति पाउल कगामे । कुनै वेला योवेरी मुसेवेनीको नेसनल रेसिस्टेन्स् आर्मीको तर्फाट गुरील्ला युद्व लडेका तथा रुवाण्डा प्याटि्रयोटिक आर्मीका नेता पाउल कगामेलाई विश्वकै ठुलो मानिने उक्त वैज्ञानिक सम्मेलनमा त्यसै वोलाइएको थिएन । वरु उनको देशमा उनी सत्तासिन भए पश्चात पुननिर्माण र शैक्षिक क्षेत्र विशेष गरि विज्ञान र प्रविधीको क्षेत्रमा उनको नेतृत्वको सरकारले गरेको ठुलो लगानी र प्रतिवद्वतालाई हौसला प्रदान गर्नको लागि वोलाइएको थियो । ६० वर्षलामो गृहयुद्व तथा मानव नरसंहारको पिडा भोगेको रुवाण्डामा युद्वको कारण विज्ञान प्रविधीको क्षेत्रमा लागेका मानिसहरु पलायन भएका वा मारिएकोले दक्ष जनशक्ति निर्माण प्रमुख चुनौति रहेको कुरा उनले उक्त वैज्ञानिक सम्मेलनमा बताएका थिए । अहिले विदेश पलायन भएका जनशक्तिलाई खोजी खोजी स्वदेश ल्याउनु परेको कुराहरु उनको मुखबाट भाषणको क्रम र केहि भलाकुसारीको क्रममा सुन्दा नेपालबाट वर्षैनी ठुलो संख्यामा वैज्ञानिक जनशक्ति पलायन भएर विदेश लागेको र अहिले पनि त्यो क्रम यथावत नै रहेको आफ्नो देशको यर्थाथतालाई संझिएको थिए ।
प्रमुख अतिथीको आसनबाट उनले भाषण गर्दै गर्दा म, साथी पशुपति चौधरी र किरण श्रेष्ठ एक आपसमा फुस्फुसाएका थियौं । “नेपालको नेताहरु पनि एकदिन यसरी नै यति ठुलो वैज्ञानिक सभामा भाषण गर्न आउलान् त ? ” भनेर । हाम्रो उक्त दिनको आशा पुरा होला या नहोला तर उक्त सम्मेलनमा एकदिन स्वंयसेवा गरे वापत पाइएको साइन्सको एकबर्षे निशुल्क अनलाइन संस्करणको जुन १३ को अंकमा हात पर्दा र नेपालको नाम र नेपाल सम्वन्धि समाचार त्यसमा देख्दा पनि यतिखेर मन पुलकित भएको छ । विज्ञान क्षेत्रको अग्रिणी ‘साइन्स’ पत्रिकामा समाचार आउनु आफैमा एउटा गौरव योग्य कुरा हो । त्यसमाथि पनि संविधान सभाले अघिल्लो वर्ष भन्दा विज्ञान तथा प्रविधीको क्षेत्रमा १२ गुणा बढि वजेट विनियोजन गर्न लागेको खवर झनै सुखद छ, हामी विज्ञान तथा प्रविधीमा लागेका मानिसहरुको लागि ।
हो वास्तवमा विज्ञान भनेको आधुनिक संसारलाई चियाउने झ्याल मात्रै होइन यो कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड पनि हो । अहिलेको संसारमा आफ्नो देश अनुकुलको विज्ञान र प्रविधीको विकास नगरी आर्थिक विकास मात्रै गर्छु भन्नु कोरा कल्पना मात्रै हो । आज विश्वका विकसित देशहरुको इतिहासलाई हेर्दा विगतमा उनीहरुले गरेको विज्ञान तथा प्रविधीको क्षेत्रमा वृहत लगानीको प्रतिफल हो भनेर ठोकुवा गर्न सकिन्छ । आर्थिक रुपमै विश्वको एक नम्वर तिर लम्किरहेको चीनलाई हेर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुन्छ । भनिन्छ, १९९० तीर चीनमा साधारण क्याल्कुलस जान्नेहरु पनि औंलामा गन्न सकिने थिए तर आज चाइनिज वैज्ञानिकहरुले विश्वभरि नै आफ्नो साम्राज्य फैलाइरहेका छन् । त्यसकारण हाम्रो देश अविकसित हुनका अनेकौं कारणहरु मध्ये विज्ञान तथा प्रविधीको क्षेत्रलाई सधै उपेक्षा गरीनु र यसको विकासमा कुनै पनि ठोस कदम नचालिनु पनि एक हो । विडम्वना मान्नुपर्छ हाम्रो देशमा विगतमा विज्ञान सधै ‘रोएर नै मरी’ रह्यो ।
यतिखेर हामी नयाँ नेपालको कुरा गरिरहेका छौं । आर्थिक क्रान्ति र समृद्धि कुरा गरिरहेका छौं तर विगतमा झै अब पनि विज्ञान तथा प्रविधीको क्षेत्रलाई अपेक्षाको दृष्टीले हेर्ने हो भने पक्कै पनि आर्थिक विकासको कुरा हावादारी हुनेछ । यद्यपी अहिले सरकारको नेतृत्व गर्न लागेको माओवादीको प्रतिवद्वतापत्रलाई हेर्ने हो भने अन्य दलले भन्दा उनीहरुले यस क्षेत्रको विकासलाई वढि प्रथमिकता दिएको पाइन्छ । त्यसमा भनिएको छ “विज्ञान र प्रविधी को विकास नगरी विकास असंभव छ ।” उनीहरुले त्यँहा विदेश पलायन भएका बैज्ञानिक जनशक्तिलाई समेटने कुराहरु पनि गरेका छन् । सायद यहि भनाईलाई आधार मानेर होला ‘साइन्स’ पत्रिकाले प्रचण्डको फोटो सहितको समाचार छापेको । यस क्षेत्रको विकासको पनि अब के गर्न पर्ला, भनेर बुदागत रुपमा केही कुराहरु राख्न गइरहेको छु । तपाईहरुले पनि आफ्नो बिचारहरु राख्नु होला ।
बैज्ञानिकहरुको सामाजिकीकरण र समाजको बैज्ञानिकीकरणविज्ञान तथा प्रविधीको विकासको कुरा गर्दा सवैभन्दा पहिले विज्ञानिक जगत तथा समाजको वर्तमान सम्वन्धलाई तोडिनु आवश्यक छ । नेपालमा विज्ञान प्रविधीको विकास नहुनुमा समाज र विज्ञान विचको दुरी पनि एक हो । नेपाली समाजमा बैज्ञानिक भनेको अर्कै ग्रहका मानिसहरु जस्तो ठानिन्छ । नेपाली बैज्ञानिकका केहि आविष्कार गरे भने पनि अविश्वास गर्ने वा नेपालमा पनि यस्तो गर्न सक्छन् र भनेर एकातिर मानिसहरु अविश्वास प्रकट गर्छन भने अर्कातिर विज्ञान क्षेत्रमा लागेका मानिसहरुले पनि सामाजिक समस्याको बारेमा अनभिज्ञता प्रकट गर्छन् । जसले गर्दा समाज र विज्ञान र प्रविधीको क्षेत्रमा लागेका मानिसहरु विचको एक किसिमको दुरी पाईएको छ । वैज्ञानिक भनेको वैज्ञानिक जर्नल, सभा र सम्मेलनमा आफ्ना विचार राख्ने र विचारको जगतमा एकछत्र राज गर्ने मानिस मात्र होइन, उ समाजमा भएका विविधता बुझ्ने वुझ्कड र संश्लेषक पनि हो । समाज र विज्ञान विचको सुचनाको पुल पनि हो । वैज्ञानिकहरुले आफुले गरेका अनुसन्धानले जीवन जगतलाई कस्तो प्रभाव पार्दछ भनेर आम मानिसलाई बुझाउन सक्नुपर्दछ । एक अर्थमा उ आविष्कारको कथा सुनाउने कथाकार पनि हो । त्यसैले उसले भनेको कथा समाजले बुझ्ने हुनुपर्दछ अनि मात्र समाज र विज्ञान विचको दुरी कम गर्न सकिन्छ । वैज्ञानिक सभा सम्मेलनमा मन्त्रीको भाषणले जति संचार माध्याममा चर्चा र ठाँउ पाँउछ त्यँहा प्रस्तुत बैज्ञानिक कार्यपत्रहरुलाई ब्यर्थ को ठानिन्छ । अनि आममानिसलाई त्यसवाट प्रसारित सुचनाले वैज्ञानिक सम्मलेनमा मन्त्रीले यसो भन्नु भएछ, उसो भन्नु भएछ, भन्ने कुरा मात्र थाहा हुन्छ । आममानिसले नयाँ आविष्कार र भईरहेका अनुसन्धानका सुचनाहरुको पत्तै पाउदैन । हवाई जहाज बनाउने वा रकेटको प्रोटोटाइप तयार गर्ने दश वा बाह्र कक्षा पढेको भाईवहिनीहरुको कार्य र अर्न्तवार्ताहरुले संचार माध्याममा हलचल ल्याउँछन् तर जिन्दगी भरी अनुसन्धानमा विताएकाहरुलाई कसैले चिनेको हुदैन समाजमा । अब यो बिडम्बना पूर्ण स्थिति बाट पूर्णरुपमा मुक्त हुनपर्दछ । त्यसकारण अनुसन्धानहरुको समाजमुखीकरण गर्नु र वैज्ञानिक जगतको सामाजीकीकरण अत्यन्त आवश्यक छ ।
विज्ञान र राजनिती दोश्रो विश्व युद्वताका अमेरीकाका विश्वविद्यालयहरुले आफ्नो अनुसन्धानहरुलाई सैनिकहरुको वन्दोवस्ती निर्माण, र सैन्य जीतलाई सधाउने किसिमका प्रणाली वा सरसामाग्री निर्माणमा केन्द्रिकृत गरेका थिए । रुसमा वोल्सिभिक क्रान्तिपछि वैज्ञानिकहरुको अनुसन्धान बढि खाद्यान्न उत्पादन तर्फ केन्द्रित थियो । अनि भारत स्वतन्त्र भएपश्चात ६० को दशकमा भारतमा हरित क्रान्तिको शुरुवात गरिएको थियो । त्यसकारण वैज्ञानिक अनुसन्धानहरु देशको राजनिती, रणनिती र योजनाहरुबाट पृथक रहदैन । कसैले मानोस नमानोस यो पनि राजनितीबाट नै निर्देषित हुन्छ । अझ विकशित देशमा त झन वैज्ञानिक जगत पार्टीको घोषणापत्र हेरेर कुनै पार्टीको पक्षमा ‘लविगं’ गर्ने गर्दछन् । तर हाम्रो अवस्था विल्कुल भिन्न छ । वर्तमान संविधान सभाको निर्वाचनको क्रममा समावेशिताको कुरा उठ्दा वैज्ञानिक क्षेत्रबात प्रतिनिधित्व वा यस क्षेत्रको विकाशका कुराहरु उठदै उठेनन भन्दा पनि हुन्छ । अझै पनि ठुलो संख्यामा वैज्ञानिकहरुको संस्थाको भुमिका भनेको गोष्टी, सेमीनार गर्ने, अनुसन्धान प्रस्तावपत्रहरु तयार गर्नमा मात्रै सिमित रहेको छ । त्यसकारण विज्ञान क्षेत्रमा लागेका अगुवाहरुले विज्ञान क्षेत्रको विकासको लागि नितीनिर्माण तहमा दवाव दिनु र यस क्षेत्रको विकाशका लागि ‘लविगं’ गर्नु अत्यावश्यक छ । त्यसको लागी विज्ञान क्षेत्रमा लागेकाहरुले राजनितीलाई वुझन् र राजनितीमा लागेकाहरुले विज्ञानको महत्वलाई वुझ्न आबश्यक छ ।
ubshrestha@yahoo.com
No comments:
Post a Comment
Please type your comment in the box below.