6/20/2008

प्रतिभा पलायन की ज्ञान आर्जन ?

First part of this article is here.

उत्तम बाबु श्रेष्ठ

आज विश्व एक कुनाबाट अर्को कुना नदेखिने गोलो होइन बिचार र ज्ञानको दृष्टीकोणबाट सबै देखिने चेप्टो अर्थात फ्ल्याट हुँदै गइरहेको छ । अबको संसारमा ऐतिहासिक, भौगोलिक र क्षेत्रिय दुरी असान्दर्भिक भएको तर्क गर्छन् द ओर्ल्ड इज फ्ल्याट ए ब्रिफ़ हिस्ट्री अफ दी ट्वान्टी फर्स्ट सेन्चुरी का लेखक थोमस फ्राइडम्यान । आफ्ना कल सेन्टरहरु दक्षिण भारतबाट चलाउने, नुनदेखि सुनसम्म चीन, दक्षिण एशिया र ल्याटीन अमेरीकी मुलुकहरुबाट निर्यात गर्ने अमेरीकी आँखाबाट विश्वलाई हेर्दा देखिएका उक्त भनाईहरु हाम्रो अवस्थामा दुरुस्त लागु नभएतापनि यो कुरा स्पष्ट छ अबको मानिसलाई भुगोलका साना सीमारेखाहरुले बाध्न सकिदैन । त्यसकारण बिकाशील देशबाट श्रम शक्ति र सिर्जनशिल प्रतिभाहरु बिकसित देशतिर रोजगारी वा अवसरको लागि बसाई सर्नु अनौठो होइन ।

२०४६ सालको परिवर्तनले दिएको खुला वातावरण, बिश्व्वब्यापी सूचनाको पहुँच र द्वन्दको कारण ग्रामीण भागबाट हजारौको संख्यामा युवाहरु मात्रै विदेश पलायन भएनन बरु विज्ञान तथा प्रविधीको विकासमा लागेका थुप्रै दक्ष जनशक्तिहरु नाम चलेका शिक्षण संस्था वा अनुसन्धानशालाहरुमा खाईपाई आएको जागिर चटक्क छोडेर, नेपाल वसेर केहि नहुने देखेर बिदेशीए । देशको राजनैतिक अवस्था सप्रेपछि नेपालमा नै रोजगारी पाईन्छ भन्दै सस्तो श्रम गर्न गएका जनशक्ति सजिलै फर्केलान भन्न सकिन्छ तर विज्ञान वा प्रविधीको क्षेत्रमा लागेका दक्ष जनशक्ति जसले अप्रबासी कानून सजिलो भएका युरोप वा अमेरीकी बजारमा आफुलाई संघर्षको माध्यामबाट स्थापित गराउदैछन् उनीहरुलाई फर्काउनको लागि भने देशले निकै ठुलो मेहनत गर्नु पर्ने देखिन्छ । यद्यपी उनीहरुलाई फर्काउनै नसक्ने भने चाँहि होइन । देशमा अनुसन्धानको बाताबरण र उचित रोजगारीको अवस्था सिर्जना गर्ने हो भने देशले आउ नभनेपनि अबसरको खोजीमा हिडेको त्यो समूह आफु र आफ्नो परिवारको लागि भएपनि नेपाल फर्कनेछन् । अहिले भारतले द्रुत आर्थिक वृद्विदर हासिल गर्दै गर्दा सन् २००१ पछिका ५, ७ बर्षमा अमेरीकामा अध्ययन गरेका करीब ४०००० जति दक्ष कम्प्युटर साइन्स र अन्य विषय पढेका भारतियहरु अमेरीकाबाट भारत फर्किएका थिए । उनीहरु भारतलाई माया गरेर ‘मेरा भारत महान’ भन्दै मात्रै पनि फर्किएका होइनन् अमेरीकामा भन्दा भारतमा राम्रो रोजगारी र कमाएको पैसा वचत हुने अवस्था देखेर फर्किएका हुन् । देशमा विज्ञान तथा प्रविधीको राम्रो विकास भएको अवस्थामा दिर्घकालिन रुपमा त्यो अबस्थाको आशा गर्न सकिताएपनि हाललाई उनीहरु जुन अवस्थामा जहाँ छन् त्यँहाबाट उनीहरुले देशको लागि सहयोग गर्न सक्ने अवस्थाको श्रृजना गर्नु र उनीहरुको सहयोग लिनको लागि पहल गर्नु आबश्यक छ ।

आज नेपाली श्रम र पसिना मलेशिया वा अरबको खाडिमा मात्रै बगेको छैन, नेपाली हातहरु अमेरीका, युरोप, कोरिया, जापान, अष्टेलियाका नाम चलेका विश्वविद्यालय र प्रयोगशालासम्म पुगेका छन् । दोहाका सडकहरुमा मात्रै नेपाली पाईलाहरु हिडेका छैनन् नासादेखि जर्मनीको म्याकप्लाँकसम्म नेपाली पाईला पुग्न सफल भएका छन् । विदेशमा उच्च शिक्षा आर्जन गर्न गएका जनशक्तिलाई प्रतिभा पलायनको आँखाले हेरेर युरोप, अमेरीकामा ‘सेटल्ड’ हुने पलायनबादीहरुसँग के गफ गर्ने भन्दै पानी वारावार गरेर होइन उनीहरुले आर्जन गरेको ज्ञान, दक्षता र क्षमतालाई कसरी नेपाल र नेपालीको हितमा प्रयोग गर्ने भन्ने कुरा सोच्नु महत्वपूर्ण हो । विदेश वसेपनि नेपालका बारेमा अध्ययन, अनुसन्धान गर्ने वातावरण उनीहरुलाई बनाईदिए मात्रै पनि नेपालको लागि ठुलो योगदान हुनसक्छ । भौगोलिक रुपमा को कहाँ वस्छ भन्दा पनि कसले कसको हितमा काम गर्दछ भन्ने कुरा महत्वपूर्ण हुँदै गएको छ किनकी आज विश्व चेप्टो र भुगोलका साना सीमारेखाहरु असान्दर्भिक हुँदै गइरहेको छ ।

रेमिट्यान्स भित्राउने वा धनी गैह्रआवासिय नेपालीहरुको पुँजी नेपालमा लगानी गर्ने कुराहरु हुँदा नेपाली यस्ता उन्नत दिमाग वा उनीहरुको सोँचलाई नेपाल भित्राउने कुरासम्म सुनिदैन । जो जहाँ भएपनि उसले आआफनो ठाँउबाट नेपाललाई सहयोग गर्न कुरा हो । धन हुनेले धन दिन्छन्, वल हुनेले वल अनि विचार हुनेले विचार । तर त्यसको लागि संगठित पहल हुन जरुरी छ । आज यो देशमा यति नेपाली छन् उ देशमा उती नेपाली छन् भनेको सुनिन्छ । उनीहरु के गर्दै छन् त्यसको लेखा जोखा कतै भएको छैन । विदेश पढ्न गएकाहरु कति फर्किए कति कहाँ के गर्दौ छन् कुनै तथ्यांक छैन । व्यक्तिगत खर्चमा पढ्न गएकाको त कुरै छाडौं सरकारी खर्चमा विदेश पढ्न गएकाहरु पनि कति फर्किए वा कति कहाँ के गर्दौ छन् कुनै तथ्यांक छैन । व्यक्तिगत सन्जाल र परम्परागत संगठनमा संगठित नेपालीहरुलाई अब वैज्ञानिक फोरमको रुपमा संगठित गर्ने र मुलुकको हितमा लगाउने तीर सोच्न ढिला भईसकेको छ । जे जस्तो भएपनि असंगठित रुपमा भए पनि विगत केहि वर्षयता विकसित देशहरुका वैज्ञानिक अनुसन्धानशालाहरुमा पनि नेपालीहरुको पहुँच विस्तारै बढदै गइरहेको छ । अमेरीकामा हुने बिभिन्न बिधाका वैज्ञानिक सम्मेलनहरुमा नेपाली अनुहारहरु देखिनु र सम्मेलनका पेपरहरुमा नेपाली नाम छापिनु आज अमेरीकामा नेपालीहरुको बदलिँदो परिचय हो ।

भारत र चीनको विकासको पछाडि ती मुलुकहरुबाट ठुलो संख्यामा विदेशमा गएका वैज्ञानिक जगतका मानिसहरु र अध्येताहरुको बौद्विक सहयोग पनि एक हो । अमेरीकी विश्वविद्यालयहरुमा मात्रै आठहजारको हाराहारीमा भारतीय मुलका प्राध्यापकहरु छन् । हजारौको संख्यामा अनुसन्धानकर्ता, इन्जिनियर, डाक्टर आदी छन् । त्यसै गरि चीनीयाँ मुलका प्राध्यापकहरुको संख्या पनि उल्लेख्य संख्या छ । उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो आफ्नो मुलुकको अनुसन्धानहरुलाई सहयोग गरेका छन् । अनुसन्धानका विभिन्न दुईदेशिय, अन्तरदेशिय र वहुदेशिय कार्यक्रमहरु सन्चालन गरेका छन्, आफ्नो देशका अनुसन्धानकर्तालाई आफुले काम गरिरहेका विदेशका प्रयोगशालामा काम गर्न वोलाएका छन् । आफ्ना देशका अनुसन्धानशालाहरुलाई आर्थिक र प्रविधीक सहयोग गरेका छन् । त्यसकारण विदेश वसेर नाम र दाम कमाएका नेपालीहरुको एउटा पंक्तिलाई हामीले नेपालको बैज्ञानिक अध्यायन अनुसन्धानको लागि केहि सहयोग गर्न सक्ने वातावरण तयार गर्न तिर पहल हुन आवश्यक छ । गैह्र आवासिय नेपाली व्यापारीहरुसँग नेपालको जलविद्युत, संचार आदीजस्ता नाफामुखी क्षेत्रहरुमा लगानी गर्नको लागि हामी हारगुहार गर्र्छौ तर वैज्ञानिक अध्यायन र अनुसन्धानको लागि सहयोग गर भनेर सरकारी तवरबाट निती निर्माण गर्न किन कन्जुस्याई ?

अन्त्यमा, दुर शिक्षा (distance learning) नेपालका सहरी इलाकाहरुमा पनि ‘पपुलर’ हुँदै गइरहेको अवस्थामा विदेशमा प्राध्यापन गर्ने नेपाली प्राध्यापकले विदेशमा वसेर नेपालको कुनै विश्वविद्यालयमा पढाउन सक्छ भन्ने मान्यतालाई अब स्थापित गर्न आवश्यक छ । त्यसकारण विदेश धन कमाउन गएकाहरुलाई नेपालमा रेमिट्यान्स भित्राउने वा पुँजी लगानी गर्न सक्ने वर्ग भनेर आशाको दृष्टीले हेर्ने तर बुद्वि, ज्ञान र शिप आर्जन गर्न गएकालाई पलायन भएको भनेर हेयको दृष्टीकोणबाट हेर्ने परम्परा र संक्रिण सोचाईलाई तोडेर उनीहरुबाट सक्दो सहयोग लिन प्रयास गरिनु विज्ञान प्रविधीको विकासमा महत्वपूर्ण कदम हुन सक्छ ।
ubshrestha@yahoo.com

No comments:

Post a Comment

Please type your comment in the box below.